ओली-नेपालबीच भेट हल्ला मात्रै, नेपालको सचिवालयद्वारा खण्डन
काठमाडौं- केहि समाचार माध्यममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको र कतिपयमा भेट हुँने समाचार आइरहेका बेला नेता नेपालको सचिवालयले भने ति समाचार सत्य नभएको बताएको छ ।
नेता नेपालको सचिवालयले नेता नेपालले अध्यक्ष ओलीसँग भेट नभएको र भेट्ने समय समेत तय नभएको स्पष्ट पारेको छ । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेपाल र ओलीबीच भेट नभएको र भेट्ने समयसमेत तय नभएको स्पष्ट पारेका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताको जिम्मा अध्यक्ष ओलीलाई दिएपछि शीर्ष नेताहरूबीच भेट हुन लागेको चर्चा चलेको थियो । केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष सहभागी भएको थिएन ।
ओलीले बुधबार आयोजित एक कार्यक्रममा नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका थिए । केन्द्रीय कमिटी बैठकमा पनि ओलीले एकताका लागि हरप्रयास कोसिस गर्ने बताएका थिए ।
विघटित कार्यदलका सदस्यहरू एकताको प्रयासमा निरन्तर लागिरहेका छन् । तर, ओली र नेपालबीच दूरी घट्न सकेको छैन ।
उनले लेखेका छन्:
विभिन्न सन्चार माध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र के.पी. शर्मा ओली बीच आज भेट भएको/हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरूबीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।