ओलीले सामन्तको शैली अपनाएको माधव नेपालको आरोप - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

ओलीले सामन्तको शैली अपनाएको माधव नेपालको आरोप



काठमाडौं- नेकपा एमाले वरिष्ठ नेता माधव नेपालले आपराधिक, शोषक, सामन्ती, जाली–झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइँया, कहिले बाँदर जुलुस त कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन गरिरहेको बताएका छन्। ओलीलाई लक्षित गर्दै नेपालले बार्दलीमा बसेर सामन्तको जस्तो नाटक मञ्चन र जालझेल गर्ने काम भइरहेको बताए। उनले आफूले बनाएको घर (एमाले) छाडेर हिँड्न पनि गाह्रो भएको र अपमान सहेर बस्न सक्ने अवस्था पनि नभएको बताए। बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘आफैंले बनाएको घर छाडेर हिँड्ने मन कसैलाई हुँदैन तर अपमान सहेर कोही पनि बस्दैन, कुकर्म सहेर कोही पनि बस्न हुन्न।

उनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर लैजान आफू दृढ रहेको तर अरूको अपमान गर्नेले समाज र राष्ट्रको सम्मान गर्न नसक्ने बताए। ‘हामीले अहिले पार्टीको अवस्था हेरिरहेका छौं। कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर हामी राजनीति गर्छौं। आन्दोलनलाई सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउने दिशामा हामी लागेका छौं’, नेपालले भने। पार्टीको अवस्था नियालिरहेको र त्यसैअनुसार अगाडिको बाटो तय गर्ने पनि उनले बताए।

विश्वासको मत लिन नसक्दा देउवालाई मत

नेपाल पक्षका सांसदले तत्कालीन समयमा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि राजीनामा नदिईकन फेरि आफैं प्रधानमन्त्री बन्न खोजेकाले देउवालाई प्रधानमन्त्री बनाएर विश्वासको मत दिएको बताएका छन्। ओली पक्षको केन्द्रीय कमिटी बैठकबाट नेपाल पक्षका सांसदलाई सोधिएको स्पष्टीकरणको जबाफ बिहीबार बुझाइएको छ।

‘प्रतिनिधिसभा पुन: स्थापनापछि पार्टी विभाजन भएका कारणले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रक्रियाको सरकार पनि बन्न सकेन, वास्तवमा प्रतिनिधिसभा पुन: स्थापना भएपछि प्रधानमन्त्री ओलीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेता चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो। तर, त्यसो नगरी उहाँ धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनुभयो,’ उनीहरूले बुझाएको स्पष्टीकरण पत्रमा उल्लेख छ।

वैशाख २७ मा विश्वासको मत प्राप्त गर्न नसकेपछि ओलीले तत्कालै राजीनामा दिनुपर्नेमा दलको निर्णयबिना नै फेरि प्रधानमन्त्री बन्न खोजेको पनि सो पत्रमा उल्लेख छ। ‘मिति २०७८/१/२७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्दथ्यो। राजीनामा नदिई पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा हो । त्यसैले त्यस्तो कार्यको विरोधस्वरूप विभिन्न क्रियाकलाप भएका हुन् । त्यस्ता क्रियाकलापलाई विधानविपरीत भन्न मिल्दैन,’ जबाफमा लेखिएको छ।

ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पत्र पठाएको थियो २४ घण्टे स्पष्टीकरणमा देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका आरोप लगाइएको छ। ‘सम्मानित सर्वोच्च अदालतले मिति २०७८/०३/२८ गते प्रतिनिधिसभाको पुन: स्थापना गर्दा संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रियामा सहभागी भई मतदान गर्न पाउने प्रतिनिधिसभाका सदस्यहरूको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले सो मतदानलाई लिएर कुनै किसिमको कारबाही गर्न नमिल्ने भनी प्रतिषेधको आदेश जारी गरको छ, हाम्रो उक्त कार्य नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यताअनुकूल रहेको छ,’ स्पष्टीकरण पत्रको जवाफमा उल्लेख छ।

एकताका लागि नेताद्वयलाई दबाब

नेताद्वय ओली र नेपालकै कारण पार्टी विभाजनको संघारमा पुगेको भन्दै एकताका पक्षमा दुवै समूहका सांसदले दबाब दिन थालेका छन्। पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल समूहका सांसदले एकता दबाब अभियान सुुरु गरेका हुन्। दुवै समूहका सांसदले विभाजन रोक्न संयुक्त अभियान चलाउने सहमति जनाएका छन्। अभियानमा ओली पक्षबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटीलगायत छन्। त्यस्तै, नेपालतर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढालगायत छन् । एकता आह्वानको अपिल तयार पार्ने र सांसदहरूको हस्ताक्षर संकलन गर्ने जिम्मा भट्ट र पाठकलाई दिइएको नागरिकले लेखेको छ।