सत्ता बाहिर र भित्रको फरक: आफैले बनाएको कार्यविधि मिच्दै ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पालामा बनाएको कानुन मिचेर आफ्नै निर्णयको धज्जी उडाएका छन् । आफ्नै कार्यकालमा मन्त्रिपरिषद्को बैठकबाट बनाएको कार्यविधि मिचेर ओलीले थप सुरक्षाकर्मी लिएका छन् ।
आफ्नो शासनकालमा भिआइपीहरूको सुरक्षा ह्वात्तै घटाएका उनले आफू प्रधानमन्त्रीबाट हटेपछि भने झनै ठुलो संख्यामा सुरक्षाकर्मी लिएका छन् । उनकै कार्यकालमा मन्त्रिपरिषद्ले मंसिर ७ मा जारी गरेको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ विपरित ओलीले तोकिएभन्दा बढी सुरक्षाकर्मी लिएका छन् ।
पूर्व विशिस्टहरूको सुरक्षा ह्वात्तै घटाएका ओलीले प्रधानमन्त्रीबाट हटेलगतै अरू नेताले भन्दा बढी सुरक्षा लिएका छन् । बहालमा रहेका बखत अंगरक्षक रहेका प्रहरी निरिक्षक माधव केसीलाई पनि ओलीले साथमै लगेका छन् ।
शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगतै गृह मन्त्रालयले पटके निर्णयमार्फत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा पूर्वपदाधिकारीहरुको सुरक्षामा प्रहरी तैनाथी बढाएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले प्रहरी नायब उपरीक्षक र ओलीले निरिक्षकबाहेक अरु पूर्वपदाधिकारीको सुरक्षामा प्रहरी नायब निरिक्षक (सइ) भन्दा तल्लो दर्जाका सुरक्षाकर्मी लिएका छन् ।
ओली नेतृतव्को सरकारको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ लागू गर्दै पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरुको सुरक्षामा कटौती गरेको थियो ।