यसकारण राजीनामा फिर्ता लिन भीम रावल तयार भए
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । आफ्नै पार्टीमा भएको खटपटका कारण दिएको राजिनामा उनले फिर्ता लिने भएका हुन् ।
असार ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि एमाले भित्र पनि आफ्नै समुहमा मत विभाजन भएकाले उनले राजिनामा दिएका थिए । विश्वासको मतकै बिषयमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि उनको खटपट भएको थियो ।
तर नेता रावलमाथि राजीनामा फिर्ता लिन चर्को दवाव परेको थियो । पार्टीका शिर्ष नेताहरू देखि आफ्नो क्षेत्रको जनप्रतिनिधिहरूले काठमाडौंमा आएर उनलाई राजीनामा फिर्ता लिन दवाव दिएका थिए ।
नेता नेपालले बिहीबार रावलनिवास टोखामै पुगेर यताउता केहि नसोची तत्काल राजिनामा फिर्ता गर्न दवाव दिएका थिए । रावलले नेपाललाई यस विषयमा सोच्ने बताएका थिए।
त्यसअघि एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत रावल चेपुवामा परेर राजीनामा दिएको भन्दै फिर्ता लिन आग्रह गरेका थिए ।
नेता नेपाल पार्टी अध्यक्ष ओलीपक्षसंग एकता प्रक्रिया अघि बढाउन सहमत भएपछि रावल राजीनामा फिर्ता लिन तयार भएको स्रोतको दावी छ । स्रोतका अनुसार रावलले राजीनामा फिर्ता लिने निर्णय गरिसकेका छन् । उनले यो सुचना माधव नेपाललाई समेत पठाइसकेका छन् ।