उपेन्द्र यादवलाई सात मन्त्रालय - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

उपेन्द्र यादवलाई सात मन्त्रालय



काठमाडौं- जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय मागेको छ। यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको लाइन भएको स्पष्ट पारे। यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रस्ट पारे।

जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने या नजाने विषयमा अझै टुंगो नलागेको यादव पक्षका नेताहरू बताउँछन्। ‘अध्यक्षज्यू सरकारमा गए हामीले एक उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालय पाउने सम्भावना धेरै हुन्छ। तर अध्यक्षज्यू सरकारमा जानुभएन भने परराष्ट्र हामीले पाउँदैनौं,’ ती नेताले भने, ‘त्यसैले अध्यक्षज्यू सरकारमा जानुपर्छ भन्ने हाम्रो लाइन हो।’

यादव पक्ष निर्वाचन आयोगको निर्णयपछि सरकारमा जाने भएको छ। आधिकारिकताको फैसला सुनाउन आयोगले पार्टीका कार्यकारिणी समितिका सदस्य र सांसदहरूको ‘हेड काउन्ट’ गर्ने भएको छ। आयोगले ‘हेड काउन्ट’ गर्नुअघि नै सरकारमा गए सरकारमा जान नपाएकाहरू तत्काल ठाकुर पक्षमा जाने सम्भावना भएकाले यादव पक्ष आयोगको निर्णय कुर्नतिर लागेको नागरिकले लेखेको छ।