एमाले केन्द्रीय कमिटी बैठक आज पनि - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

एमाले केन्द्रीय कमिटी बैठक आज पनि



काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। साउन ४ गतेदेखि जारी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

आजको बैठकमा एमालेको नेपाल-खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने बताइएको छ। तर, नेपाल खनाल समूहले भने संस्थापन पक्षले आफ्ना नेताहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएर एकतामा भाँजो हालेको बताउँदै आएको छ।

एमालेका २२ जना सांसदले गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। सोही विषयमा एमालेले स्पष्टीकरण सोधेको थियो।

यसअघि बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो। बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपव्याख्याबाट सरकार बनाइएको ठहर गरेको थियो।

सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको थियो।

केपी शर्मा ओली नेतृत्वको सरकारले घेराबन्दीबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निराश नहुन सम्पूर्ण कार्यकर्ता तथा शुभचिन्तकलाई आग्रह गरेको छ। बैठकले आफूहरू फेरि पुरानै ठाउँमा आउने पनि निष्कर्ष निकालेको थियो।