थप तनावमा ठाकुर, उपेन्द्र यादव समूह झनै कठोर
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुरमाथि अर्को तनाव थपिएको छ । जसपाको उपेन्द्र यादव समुह ठाकुरमाथि झनै कठोर बनेको छ । ठाकुर समुहले जनतामा माफी नमागेसम्म एकता नहुने यादव समुहले निष्कर्ष निकालेको छ ।
यादव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले ठाकुर पक्षले जनतासँग माफी मागे मात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको हो । पुस ५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जसपा आन्दोलित भएको थियो । जसको चर्को विरोध महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका थिए ।
दोस्रो पटक विघटन गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएपछि पार्टीमा तीव्र अन्तरविरोध सुरु भएको थियो । सोही अन्तरविरोधले पार्टी विभाजित हुँदै आधिकारिकताका लागि निर्वाचन आयोगसम्म पुगेका छन् । यसैबीच यादव पक्षको संसदीय दलले विधान पारित गरेको छ ।
सो विधानलाई कार्यकारिणी समितिबाट पारित गरी पुनः संसदीय दलमा ल्याएर दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरिने यादव पक्षीय नेताहरूले बताएका छन् । आजको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताउँदै जसपा नेताहरूले नयाँ सरकारलाई पार्टीको समर्थन रहेको बताउँदै ढिलोचाँडो सरकारमा सहभागी हुने बताएका छन् ।
यस्तै मंगलबार नै बसेको ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताका लागि यादवले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिए एकताका लागि पहल गर्न सकिने निर्णय गरेको थियो ।