माधव नेपाल बिना एमालेमा पर्ने प्रभावबारे ओलीले लिए देशभरबाट सुझाव - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

माधव नेपाल बिना एमालेमा पर्ने प्रभावबारे ओलीले लिए देशभरबाट सुझाव



काठमाडौं- नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नहुँदा आगामी चुनावमा पर्ने असरको विषयमा छलफल भएको छ। 

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकमा सात वटै प्रदेशका अध्यक्षले पार्टी विभाजनले पार्ने प्रभावबारे प्रतिवेदन प्रस्तुत गरेका हुन्। 

बैठकमा प्रदेश अध्यक्ष कर्णबहादुर थापा (सुदूरपश्चिम), गोरख बोगटी (कर्णाली), लीला गिरी (लुम्बिनी), जगत विश्वकर्मा (गण्डकी), आनन्द पोखरेल (बागमती), ज्वालाकुमारी साह (प्रदेश २) र देवराज घिमिरे (प्रदेश १) ले पार्टी फुट्दा पर्ने प्रभावबारे सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए।

एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले बैठकबारे जानकारी दिँदै भने, “प्रदेश अध्यक्षहरूले प्रदेशमा पार्टीको अवस्था के छ? भोलि पार्टीबाट केही नेता बाहिरिँदा त्यसको के असर पर्छ? आसन्न निर्वाचनमा एमालेको अवस्था कस्तो हुनसक्छ र पार्टीलाई कसरी अगाडि लैजानुपर्छ भन्नेबारे प्रतिवेदन र सुझाव प्रस्तुत गर्नुभयो।”

६ साउनमा पुनः बस्ने बैठकमा महासचिव ईश्वर पोखरेलले उठेका प्रश्नको जवाफ दिने भएका छन्। मंगलबारको बैठकमा ओली पक्षका तर्फबाट कार्यदलको नेतृत्व गरेका सुवासचन्द्र नेम्वाङले १० बुँदे सहमतिको पृष्ठभूमि र कार्यान्वयनको विषयमा ‘ब्रिफिङ’ गरेका थिए। 

भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले आयोगले अहिलेसम्म गरेका कामको विषयमा बैठकमा जानकारी गराएका थिए। २०७६ चैतमा गठित आयोग सरकारले विघटन गरेको चर्चा चलिरहेका वेला ज्ञवालीले त्यसबारे जानकारी गराएका हुन्। 

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा कार्यदलले तयार गरेको १० बुँदे सहमति, सर्वोच्च अदालतको २८ असारको फैसला, अध्यक्ष ओली नेतृत्वको सरकारले गरेका महत्त्वपूर्ण काम, पार्टीका आगामी कार्ययोजना, पार्टी सुदृढीकरण र शुद्धीकरण अभियान लगायत नौ वटा विषयमा छलफल भएको जानकारी दिए।

वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरूले भने बैठक बहिष्कार गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका वरिष्ठ नेता नेपाल सहित २२ जनालाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। २४ घण्टा पत्र प्राप्त भएपछि गणना हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए।