प्रचण्डलाई सुरक्षा ‘थ्रेट’
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथी सुरक्षा ‘थ्रेट’ भएको भन्दै सुरक्षा व्यवस्था थप गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकाले घटाएको प्रचण्डको सुरक्षा शेरबहादुर देउवा नेतृत्वको सरकारले बढाएको हो ।
तत्कालीन ओली सरकारले प्रचण्डसहित शीर्ष नेता तथा पूर्व राज परिवारको सुरक्षा व्यवस्था घटाएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै प्रचण्डको सुरक्षा बढाएको हो ।
ओली नेतृत्वको सरकारले विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी नयाँ कार्यविधि–२०७७ जारी गरेको थियो । सो कार्यविधिमा विशिष्ट व्यक्तिलाई दिइने सुरक्षा संख्या तोकिएको थियो । सुरक्षाकर्मीको संख्या घटेपछि पूर्वराजाले सरकारलाई पत्र नै लेखेर सुरक्षा बढाउन माग गरेका थिए ।
यसअघि, पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डले नै सबैभन्दा बढी सुरक्षा लिँदै आएका थिए । पूर्वराजाको निवास र सुरक्षामा १०० बढी सुरक्षाकर्मी तैनाथ थिए ।
त्यसबाहेक प्रचण्डको सुरक्षामा ४० बढी सशस्त्र प्रहरी र नेपाल प्रहरीका २७ जना थिए । सशस्त्र टोलीको नेतृत्व इन्सपेक्टरले गर्दै आएका थिए भने प्रहरीको नेतृत्व डीएसपीले गर्दै आएका थिए । सुरक्षा कार्यविधि जारी भएपछि सो संख्या घटाइएको थियो ।
देउवा नेतृत्वको सरकारले प्रचण्डलाई पुनः डिएसपीकै नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । डिएसपी प्रचण्डको अंग रक्षकका रुपमा हुनेछ । गृह मन्त्रालयका अनुसार प्रचण्डले आफूलाई डिएसपी कमाण्डको सुरक्षा व्यवस्था गरिदिन आग्रह गरेका थिए ।