एमाले केन्द्रीय कमिटी बैठक आज पनि: २२ नेतामाथि कारबाही अगाडी बढ्ने - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

एमाले केन्द्रीय कमिटी बैठक आज पनि: २२ नेतामाथि कारबाही अगाडी बढ्ने



काठमाडौ- ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सोमबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिउसो ३ बजेदेखि बस्दैछ । सहमतिपछि १० औँ केन्द्रीय कमिटि बनाईएको बैठकमा आज नेताहरूलाई कारबाही गर्ने तयारी गरिएको छ ।

त्यसबाहेक विभिन्न एजेण्डामा छलफल हुने बताइन्छ । आजको बैठकमा स्थायी कमिटि बैठकले गरेका कतिपय निर्णयको समेत छलफल हुने बताइएको छ।

सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आजको बैठकले उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउने जनाइएको छ।

विश्वासको मत दिएका दुवै समुहका २२ नेतालाई २४ घन्टे स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय सोमबारको बैठकले गरेको थियो ।

स्पष्टिकरण सोधिएपनि सांसदहरुले यसबारे कुनै जवाफ दिएका छैनन्। प्रधानमन्त्री देउवाको पक्षमा मत दिने सांसदहरुले यो स्पष्टीकरणको औचित्य नरहेको भन्दै कुनै जवाफ नदिने बताएका छन्।

असार २८ मा संसद पुनःस्थापन गर्न आदेश दिएको सर्वोच्च अदालतले देउवालाई विश्वासको मत दिएका सांसदलाई कुनै पनि पार्टीले कारवाही गर्न नपाउने फैसला गरेको थियो। तर, आज बस्ने केन्द्रीय कमिटी बैठकमा यी नेताहरुमाथि कारवाही गर्ने सम्भावना रहेको एक नेताले बताए।