अदालतको आदेशविपरित एमालेका २२ नेतामाथि ओलीले गरे कारबाही
काठमाडौं-नेकपा एमाले ओली समुहले सर्वोच्च अदालतको आदेश लत्याउँदै पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही अगाडी बढाएको छ ।
केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् ।
बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेको भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो-हल्ला भएको थियो ।
बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राईलगायतका सदस्यहरुले आजै पार्टीबाट निकाल्नुपर्ने माग राखेका थिए । आजै कारवाही गरेर निकाल्नुपर्छ भन्ने सदस्यहरूले केहीबेर हुटिङ गरेको एक नेताले बताए ।
पार्टीको निर्णय नमान्ने र पार्टीविरुद्ध गएर मतदान गर्नेमाथि कारवाही गर्नुपर्ने माग बैठकमा उठेकाले कारबाही अगाडी बढाइएको बताइएको छ ।
सर्वोच्च अदालतले देउवालाई समर्थन गरेका आधारमा सांसदलाई कारवाही गर्न नमिल्ने भनेको छ । तर, पार्टीले विधान अनुसार राजनीतिक निर्णय गर्न सक्ने एमालेले जनाएको छ ।