ठाकुर समूहले देउवालाई विश्वासको मत दिनुको रहस्य के हो ? - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

ठाकुर समूहले देउवालाई विश्वासको मत दिनुको रहस्य के हो ?



काठमाडौं- संसदमा विश्वासको मतका आगी चलिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले अनपेक्षित रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गर्यो । उनीहरूको सो निर्णयले सबै चकित परे ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीको निर्णय विपरीत सहभागी भएको ठाकुर समूहले देउवालाई विश्वासको मत दिन्छ भन्ने अपेक्षा कसैले गरेका थिएनन् । र, आफ्नै सरकार ढालेर नयाँ सरकार बनाएकालाई विश्वासको मत दिनु राजनीतिक नैतिकताको आधारमा पनि बेठिक भन्ने हुन्थ्यो । तर, अन्तिम अवस्थामा ठाकुर समूहले विश्वासको मत दिने निर्णय गर्यो । सबैलाई अचम्मित तुल्यायो ।

देउवाले संसदमा विश्वासको मत मागेपछि संसद बैठकलाई सम्बोधन गर्दै ठाकुरले विश्वासको मत दिने निर्णय गरेको बताए । उनले भने– ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत माग्नु भयो । हाम्रा मुद्धाहरु सम्बोधन गर्ने अपेक्षा र आग्रहसहित विश्वासको मत दिने निर्णय गरेको हौं ।’

अध्यक्ष ठाकुरले भने झै देउवा नेतृत्वको सरकारले आफ्ना मुद्धा सम्बोधन गर्ने आशामा विश्वासको मत दिन पुगेका होइनन् भन्ने विश्लेषण गरिएको छ । आफ्ना सांसदहरु धमाधम उपेन्द्र यादव समूहमा जान थालेपछि बाध्य भएर ठाकुर समूहले पनि विश्वासको मत दिने निर्णय गरेको बताइन्छ ।

जसपा नबन्दै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी हुँदा नै दुई शक्तिबीच एकअर्कालाई भाँजो हाल्ने क्रम चल्थ्यो । बाध्यात्मक परिस्थितिमा एक भए पनि भावनात्मक रूपमा एक हुन नसकेको दुई शक्तिबीच आन्तरिक शक्ति संघर्ष चलिरहेकै हुन्थ्यो । केपी ओलीको कदम ठीक बेठिक ? भन्नेमा पनि यो शक्तिको संघर्ष थियो ।

ओली नेतृत्वमा सरकार बन्दासमेत सरकारमा सहभागी हुने क्रममा दुई शक्तिबीच एक अर्कालाई छेक्ने कोसिस भएको थियो । त्यो समयमा यादव समूहले ओलीको मन जित्यो र सरकारमा सहभागी भयो । ठाकुर समूह बाहिरै बस्यो । तर, सरकारलाई समर्थन गर्यो । यसपटक पनि यादव समूहले देउवालाई विश्वासको मत दिने भएपछि उहिले जसरी नै ठाकुर समूहले पनि विश्वासको मत दिने निर्णय गरेको हो ।

पार्टीको निर्णयविरुद्ध ओली सरकारमा सहभागी भएको ठाकुर समूह १३ दिन मात्र सरकारमा रह्यो । ‘एकातिर सरकार ढल्यो, अर्कोतिर पार्टी विभाजन हुँदा आँफू रित्तिने सम्भावना बढ्यो’ भन्ने ठाकुरको पछिल्लो विश्लेषण हो । त्यसैले यादव समूहको निर्णय अनुसार नै देउवालाई विश्वासको मत दिएर पार्टीमा आफ्नो स्थान केही सुरक्षित होला कि भन्ने आशा ठाकुरमा पलाएको पनि विश्लेषण गरिएको छ ।

दुई समूह भए पनि सिंगो जसपाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दियो । तर, यत्तिले जसपाको विवाद समाधान हुने अवस्था छैन । निर्वाचन आयोगमा आधिकरिकताको झमेला बाँकी नै छ । आजकै निर्णयबाट ठाकुरले आशा गरे झै जसपाको समस्या समाधान हुने सम्भावना छैन ।

परिस्थितिले यादव समूह नै ठीक भन्ने वातावरण बनेकाले जसपाको विवाद समाधान हुन ठाकुर समूहले ‘ओली सरकारमा सहभागी हुनु गल्ती थियो’ भन्नुपर्ने हुन्छ । तर, ठाकुर हत्तपत्त त्यो अवस्थामा पुग्ने सम्भावना छैन । त्यसैले जसपाको समस्या समाधान निर्वाचन आयोगको निर्णयसम्म लम्बिने छ ।