प्रदीप ज्ञवालीलाई प्रचण्डले दिए मुखभरीको जवाफ
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई मुखाभारीको जवाफ दिएका छन् । आइतबार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ज्ञवालीले लगाएको आरोपमाथि कडा टिप्पणी गरेका छन् ।
ओलीले गरेका असंवैधानिक कदमको ढाकछोप गरेका ज्ञवालीलाई प्रचण्डले निर्मम टिप्पणी गरेका छन् । उनले ज्ञवालीलाई अझै पनि ढाँटछल गर्न नछाडेको भन्दै यस्ता जालझेल नगर्न आग्रह गरे । प्रचण्डले आफूहरूले ओलीलाई भोगेकोले अझै ढाकछोप गरेर के साबित गर्न खोजेको भन्दै प्रश्न समेत गरेका छन् ।
अर्को प्रसंगमा ज्ञवालीले ‘युद्ध जित्न नसकेर हारेर आएर लोकतन्त्र मानेका होइनौं’ भनेको भन्दै ज्ञवालीले कुतर्क गरेको प्रचण्डले बताए । उनले भने, ‘भन्ने एउटा गर्ने अर्को ? त्यसको साक्षी हामी थिएनौँ ?,’ दाहालले भने, “हामी ज्युँदै छौँ र उपस्थित छौँ के, अब चल्दैन । किन पत्याउने तपाईंलाई ? गोहीको आँशु देखाउने ? प्रणालीको चिन्ता अझै ?’
उनले भने, ‘मलाई र शान्ति सम्झौताका सहयात्री सबैलाई चित्त दुख्ने कुरा हो । तपाईं एमालेको तीनै नेतामध्ये होइन, जो माओवादी आन्दोलनका नेताहरुसँग संविधानसभा गणतन्त्रमा सहमति गरौं भन्ने तपाईंहरु नै होइन ? तपाईं पनि हुनुहुन्थ्यो नि एकचोटि युद्धमा । टाउको कुट्नेमा तपाईं हुनुहुन्नथ्यो र ?,’ ज्ञवालीले आफूलाई यसो भन्न बाध्य बनाएको उनले सुनाए ।
उनले एमाले नेता ज्ञवालीलाई शान्ति सम्झौता गलत थियो भन्न खोजेको हो भनेर प्रश्न पनि गरेका छन् । माओवादीलाई युद्ध हारेर आएर लोकतन्त्रको कुरा गर्ने भन्ने आशयका साथ ज्ञवालीको अभिव्यक्ति आएको भन्दै प्रचण्डले अघि भने, ‘माओवादीले लोकतन्त्रको पक्ष लिन हुन्न भन्न खोजेको हो कि क्या हो ?’
ज्ञवालीले हेपेर बोलेको र यसले आफूलाई बेस्सरी घोचेको भन्दै उनले भने, ‘हामीले हारेको, तपाईंहरुले जितेको हो ? यसले नेपालको शान्ति प्रक्रियालाई दिगो बनाउँछ ?’
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतान्त्रिक चरित्र नदेखिएको बताएका छन्। उनले ओलीमा फरक मतलाई स्वीकार गर्न सक्ने आँट नदेखिएको बताए। उनले प्रधानमन्त्री देउवाको शपथमा उपस्थित नभएको र पुनःस्थापित प्रतिनिधि सभामा सम्बोधन गर्नु आवश्यक नठान्नू लोकतान्त्रिक चरित्र नभएको उनको भनाइ छ।
उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको शपथमा केही अस्वभाविक परिघटना देखिए। प्रधानमन्त्री नियुक्तिको त्यो भाषा संविधानको मर्म विपरित थियो। शपथका क्रममा आउने र जाने प्रधानमन्त्रीले साइडबाईसाइड बस्ने र शपथपछि कुर्सी साँटासाँट गरिन्थो। तर ओलीले त्यो आवश्यक ठानेनन्। यसबाट थाहा हुन्छ– उहाँमा भिन्न मत स्वीकार गर्ने आँट छैन। यो संस्कारको प्रश्न हो।’
प्रचण्डले अगाडि थपे, ‘आज पुनःस्थापित संसदको पहिलो बैठकमा सदनले ओलीको मुखबाटै केही कुरा सुन्न चाहेको थियो। त्यो पनि भएन। यो अस्वभाविक लाग्यो। यही हो लोकतन्त्र?’
अहिले आएर प्रतिपक्षीले प्रणाली नै सकिन लाग्यो भनेर गोहीको आँशु चुहाएको उनको भनाइ छ।
‘दुई तिहाईको प्रधानमन्त्रीले बहुमत हुँदाहुँदै पटक–पटक संसद विघटन गर्ने काम भयो। गोहीको आँशु चुहाएर तपाइलाईं पत्याउँछ कसैले? प्रणालीको बडो चिन्ता? ७६ (५) संसदको विशेषाधिकार हो,’ प्रचण्डले भने।
आज जुन अवस्था आएको छ त्यसको कारण केपी ओलीको अहंकार भएको उनले बताए। अब झुटा कुरा जनताले बुझिसकेको प्रचण्डले बताए।
उनले भने, ‘पहिलो पटक संसद विघटन गर्दा मलाई पार्टीमा काम गर्न दिइएन त्यसैले संसद विघटन गरेँ भनियो। पार्टीको विवादले संसद विघटन गर्न पाइन्छ? यो कुन लोकतन्त्र हो?’