एमालेको ओली समूह बाहेक सबैले देउवालाई विश्वासको मत दिने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

एमालेको ओली समूह बाहेक सबैले देउवालाई विश्वासको मत दिने



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेको ओली समुहले बाहेक सबैले विश्वासको मत दिने भएका छन् । अन्तिम समयमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर खेमाले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भएपछि यस्तो अवस्था आएको हो ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको महन्थ समूह अहिले देउवालाई विश्वासको मत दिन तयार भएको हो । देउवाको पत्रपछि ठाकुर समुहले मत दिन निर्णय गरेका हुन् ।

ठाकुरलाई पत्र लेखेर आज प्रधानमन्त्री देउवाले विश्वासको मत मागेका थिए । आफ्नो पक्षका सांसदहरु भटाभट उपेन्द्र यादव खेमामा जान थालेपछि ठाकुर विश्वासको मत दिन बाध्य भएको बताइएको छ ।

१२ जना सांसदमा झरेको ठाकुर खेमा विश्वासको मतको पक्षमा उभिएपछि प्रधानमन्त्री देउवालाई सजिलै बहुमत पुग्ने भएको छ । यो संगै संसदका प्रमुख चार दलमध्ये एमालेको ओलीपक्ष बाहेक सबै विश्वासको मतको पक्षमा पुगेका छन् ।

यता,जसपाले विभाजनको कानुनी मान्यता नपाउँदै संसद बैठकमा दुई पक्ष विभाजित भएको छ । आजको बैठकमा ठाकुर पक्ष विपक्षी बेञ्चमा बसेको छ भने उपेन्द्र समूह सत्तापक्षको बेञ्चमा छ ।