देउवाले आजै विश्वासको मत लिने - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

देउवाले आजै विश्वासको मत लिने



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेको बताइएको छ ।

आज सर्वोच्च अदालतको आदेशबाट पुन:स्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ। सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्।

संसद् सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभा बैठक आज दुई चरणमा बस्नेछ। दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिने स्रोतले बताएको छ।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि देउवाले परिस्थिति फेरिएर विश्वासको मत लिन कठिनाइ पर्न सक्ने आकलन गर्दै आजै विश्वासको मत लिन लागेका हुन्।

एमालेको माधवकुमार नेपालपक्षको सहजताका लागि चाँडै विश्वासको मत लिन लागिएको बताइएको छ। एकता प्रक्रिया चलिरहँदा विश्वासको मतले लफडा निम्त्याउने भएकाले पहिले यो कुरा टुंग्याएर मात्र एकता प्रयासमा केन्द्रित हुने नेपालपक्षको तयारी छ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका माधव नेपालपक्षका २३, पछिल्लो समय उपेन्द्र यादवको पक्ष लागेकासहित १७ जना, राजमोका १ र स्वतन्त्र सांसद् १ जना गरी देउवाको पक्षमा १५१ मत पुग्छ।