विनोद चौधरी र उपेन्द्र यादवले किन गरे गोप्य छलफल ?
काठमाडौं- केपी शर्मा ओलीलाई अदालतले सत्ताच्युत गरेपछि नेपालमा अनेक खालका राजनीतिक घटनाक्रम विकशित भैरहेका छन् । नेताहरूले आफ्ना भेटघाट बढाएका छन् । खासगरी नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनपछि नेताहरूको सक्रियता बढेको छ ।
विभिन्न दलका नेताहरूबीचको भेटघाट बाक्लो र राजनीति सक्रिय भैरहेका बेला सांसद तथा उद्योगपति विनोद चौधरी र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवबीच गोप्य छलफल भएको छ ।
शनिबार साँझ जसपा अध्यक्ष यादव र चौधरीबीच कुपण्डोलस्थित होटल समिटमा लामो वार्ता भएको बताइएको छ । साँझ साढे ७ बजे छलफलमा बसेका उनीहरू करिव ९ बजे छलफल टुंग्याएका थिए । कांग्रेस सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहँदा भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।
एकातिर जसपा अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्री बन्ने इच्छा देखाएको र विनोद चौधरीले पनि परराष्ट्रमन्त्री बन्ने जोड गरेको चर्चा भैरहेका बेला भएको उनीहरूबिचको छलफल खास मान्न सकिन्छ ।
स्रोतको दाबी अनुसार महन्थ ठाकुर समुहका सांसदहरूलाई विश्वासको मतमा सहभागी गराउनेबारे छलफल त्यहाँ भएको हो । नयाँ सरकारको गठन, जसपाको बृहत सहभागिता र महन्थ ठाकुर तथा राजेन्द्र महतो निकट सांसदहरूलाई यादवको समूहमा ल्याउनेबारे छलफल भएको स्रोतको दाबी छ ।