शंकर पोखरेलको राजीनामा माग
बुटवल । अल्पमतमा परेर बजेट अधिवेशनबाट भागेका लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागिएको छ । शुक्रवार विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा मागेको हो ।
गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र यादवपक्ष) र राष्ट्रिय जनमोर्चाले पत्रकार सम्मेलन गरी नेकपा एमाले दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतमा रहेकाले राजीनामा दिन माग गरेको हो।
‘प्रदेश सरकार र सत्तापक्षका सांसदहरू प्रदेश सभाको बैठक बहिस्कार गरी हठात् मानसिकताबाट ग्रसित भई अधिवेशन अन्त्य गरी सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक स्वेच्छाचारी कदम हो,’ चार दलका नेताहरूले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस कदमको गठबन्धन दल घोर विरोध गर्दछ, यस परिघटनाले माननीय शंकर पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्छ।’
मुख्यमन्त्रीको राजीनामा माग्दामाग्दै थाकिसकेको बताउँदै उनीहरुले प्रदेश सरकारसँगै प्रदेश प्रमुख धर्मनाथ यादवसँग पनि असन्तोष पोखेका छन् ।
बिहीबार राती संसद अन्त्य र शुक्रबार प्रदेश प्रमुख धर्मनाथ यादवले बजेटसम्बन्धि दुइवटा अध्यादेश जारी गरेलगत्तै विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गरी उक्त अध्यादेशको विरोध गरेका हुन् ।
लुम्बिनी सरकार वैधानिकताविरुद्ध आन्दोलित भएका विपक्षी गठबन्धन दलले बैशाखको शुरुआतदेखि आन्दोलन थालेका हुन् । मुख्यमन्त्री अल्पमतमा रहेपनि विश्वासको मत लिन नमानेको कारण बारम्बार उनीहरु आन्दोलित बन्ने गरेका हुन् ।
