थप १६ लाख खोप चीनले अनुदान दिने - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

थप १६ लाख खोप चीनले अनुदान दिने



काठमाडौं- चीनले नेपाललाई कोरोनाभाइरसविरुद्धको थप १६ लाख खोप अनुदानमा दिने भएको छ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप खोप सहयोग गर्न लागेको जानकारी दिएकी हुन्। राजदूत यान्छीले चीनले थप १६ लाख खोप अनुदानमा दिने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि पनि चीनले नेपाललाई कोरोनाविरुद्धको खोप भेरोसेल अनुदानमा दिएको थियो। अहिलेसम्म चीनले १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ।

त्यस्तै, चीनबाट ४० लाख डोज खोप किन्ने सम्झौता भएको छ। त्यस अन्तर्गत पहिलो खेपमा १० लाख खोप आइसकेको छ। दोस्रो खेपका लागि ७ साउनमा नेपाल एयरलाइन्सको जहाज चीन जाँदै छ।

नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिन राजदूत यान्छी शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेकी थिइन्। भेटवार्ताका क्रममा दुई देशबीच आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै, कोरोनाविरुद्ध लड्न नेपाललाई अन्य सहयोग गर्न चीन तयार रहेको राजदूत यान्छीले बताएकी थिइन्। त्यसैक्रममा चीनले थप खोप सहयोग गर्न लागेको जानकारी दिएकी हुन्।