शंकर पोखरेलद्वारा मध्यरातमा संसद अधिवेशन अन्त्य, अब अध्यादेशबाट बजेट
रूपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मध्यरातमा प्रदेशसभाको संसद अधिवेशन अन्त्य गरेका छन् । बिहिबार मध्यराति मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले अधिवेशन अन्त्यको घोषणा गरे ।
बिहिबार एमालेले बहिष्कार गरेपछि केही समय स्थगित भएको प्रदेशसभा पछि सूचना टाँसेर आज शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो ।
प्रदेशसभामा पेश भएको बजेट पास गर्नका लागि सत्तारूढ दलले मागेको समय दिन विपक्षी गठबन्धन तयार नभएपछि बिहिबार साँझ एमालेले सदन बहिष्कार गरेर हिंडेको थियो ।
बिहिबार राति मन्त्री परिषद बैठक बसेर संसद स्थगित गर्ने निर्णय गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सदन अन्त्य गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिसलाई प्रदेश प्रमुख यादवले संविधानको धारा १९३ को उपधारा २ बमोजिम भन्दै आठौं अधिवेशन अन्त्य गरेका छन् ।
अधिवेशन अन्त्य गरेसंगै लुम्बिनीमा पनि बजेट अध्यादेशबाट आउने भएको छ । सदनमा सहकार्य गर्न, सहमति गर्न प्रतिपक्ष तयार नभएकाले बाध्य भएर सरकारले यो बाटो रोजेको एमाले सचेतकले बताएका छन् ।