ओलीको घोषणा: माधव नेपाल गद्दार हुन्, उनलाई कुनै क्षमा हुँदैन - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

ओलीको घोषणा: माधव नेपाल गद्दार हुन्, उनलाई कुनै क्षमा हुँदैन



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल गद्दार भएको भन्दै कुनै क्षमा दिन नसकिने बताएका छन् । ओलीले आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्ने नेपाललाई कुनै क्षमा दिन नसकिने बताएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपाललाई कुनै पनि क्षमा गर्न नसकिने बताएका हुन् । ओलीले माधव नेपाललाई गद्दारको संज्ञा पनि दिए ।

‘माधव नेपालकै कारण एमालेको सरकार ढलेको हो,’ उनले भने, ‘माधव नेपालजस्ता लाजशरम हराएका विश्वासघाती र अन्तरघातीलाई आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन । नेपालजस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्न ।’

अध्यक्ष ओलीले माधव नेपालका पछाडि लाग्नेहरूका सवालमा कमीकमजोरी महसुस गरेर पार्टीमा फर्किए काम गर्ने मौका दिने बताए ।

‘कमीकमजोरी महसुस गरेर पार्टीमा आउनेहरूलाई हामी काम गर्ने मौका दिन्छौँ । तर, माधव नेपालको हकमा आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन । यो परिस्थितिको निर्माणकर्ता नेपाल हो र अगुवाइ पनि उहाँले नै गर्नु भएको हो । माधव नेपालजस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्न । ’

अध्यक्ष ओलीले पार्टीभित्रका कमजोर तत्वहरू विकाउमा लागेको पनि आरोप लगाए । ‘पार्टीभित्र विभिन्न शक्ति केन्द्रको घुसपैठ भयो । पार्टीभित्रका कमजोर तत्वहरू विकाउमा लागे । प्रतिक्रियावादीका पछि पछि लागेर पार्टी र जनताको शक्तिविरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपति कहाँ विरोधीलाई अघि लगाएर गए, कहिले अदालत पुगे । उनीहरूलाई क्षमा दिन सकिन्न,’ ओलीले भने ।