यस्ता छन् अर्थमन्त्री जनार्दन शर्माले पहिलो दिन लिएका तीन निर्णय
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले खोप खरिदका लागि ५ अर्ब रुपैयाँको सहमतिसहित तीनवटा निर्णय गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
यस्तै, उनले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमति अनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गरेका छन् । यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ ।
मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार अर्थमन्त्री शर्माले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धको स्वास्थ्य उपकरण खरिद गर्नका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जाने गरी प्रदेश र स्थानीय तहहरुलाई ५२ करोड ४६ लाख ४० हजार निकासा दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।
यसैगरी, निःशुल्क उपचार गराएका एवं विभिन्न भत्ताबापत सिर्जना भएको दायित्व व्यवस्थापनका लागि संघीय अस्पताल र निजी अस्पतालहरुको हकमा ५६ करोड ४१ लाख ५७ हजार र प्रदेशका सामाजिक विकास मन्त्रालयमार्फत प्रादेशिक र स्थानीय अस्पतालहरुमा लागि जाने गरी ३७ करोड २४ लाख ९० हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका अर्थ मन्त्रालयका प्रवक्ता आचार्यले जानकारी दिए ।
पदभार ग्रहणपछि उनले कोभिड–१९ ले असर पारेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने चुनौती थपिएको बताए । आर्थिक वृद्धि कमजोर रहेको र कोरोनाका कारण अर्थतन्त्रमा परेको असर कम गराउने काम गर्नुपर्ने उनले बताए । आफू काममा केन्द्रित हुने भन्दै उनले कर्मचारीहरुबाट पनि कामकै अपेक्षा गर्ने बताए ।