विदेशीको इशारामा सरकार ढालिएको ओलीको संकेत - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

विदेशीको इशारामा सरकार ढालिएको ओलीको संकेत



काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्कैको इशारामा एमालेको सरकार ढलाइएको बताएका छन्। देशको सार्वभौमसत्ताको पक्ष र देश विकासका लागि काम गरेपछि सरकार ढलाइएको उनले बताएका हुन्।

सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले जनताको बीचमा जानभन्दा राजनीतिक दलहरू जाने आँट नगरेको बताए।

‘विश्वको इतिहासमा पहिलोपटक अदालतबाट प्रधानमन्त्रीलाई हटाइयो र तोकियो,’ उनले भने,‘इतिहासको कँडीमा परीक्षित हुने नै छ। सरकार ढाल्न विभिन्न षडयन्त्र भए म त्यतातिर जान चाहन्न। एमाले पार्टी फुटाइयो।’

कहिले तृप्त नहुने आकांक्षाका कारण पार्टीभित्र व्यापक मतभेद सिर्जना भएको ओलीले बताएका छन्।

पार्टीभित्रैबाट पनि एमालेका २६ जनाले आफूलाई विद्राेही भन्दै आफ्नो सरकार ढाल्ने र अरू पार्टीको सरकार बनाउने काम अनुशासनहीन काम भएको उनले बताए।

अनुशासनहीन, अराजक र पार्टीविरोधी कामहरू लोकतान्त्रिक प्रणालीविरुद्ध गएको उनको जिकिर छ।

उनले सरकार लोकप्रिय बन्दै गएपछि कतिपय तत्वले जनतालाई भ्रममा पार्ने काम गरेको आरोप लगाएका छन्।

‘प्रतिपक्षमा बसेर पनि खबरदारी गरिरहने छौं, तर त्यो पनि बढीमा ढेड वर्ष त होला,’ उनले भने,‘अदालतको एकआध फैसलाबाट विचलित हुनेवाला छैनौं। फैसला असंवैधानिक छ। तर, त्यसलाई मानेर अगाडि बढ्छौं।’

ओलीले आफ्नो कार्यकर्तालाई धैर्यता र संयमित भएर अगाडि बढ्न आग्रह गरेका छन्।