सत्ताच्युत भएलगत्तै ओलीमाथि अर्को संकट: उठ्यो भ्रष्टाचार छानबिनको आवाज
काठमाडौं- सत्ताच्युत भएलगत्तै केपी शर्मा ओलीमाथि एकपछि अर्को संकट थपिन थालेको छ । अनेक काण्डले निकै विवादित बनेको ओली कार्यकालमा भएका भ्रष्टाचारका बिषय समेत उठ्न थालेका छन् । बृहत् नागरिक आन्दोलनले ओली सरकारले गरेका भ्रष्टाचार र अवैध कामको छानबिन गर्न माग गरिसकेको छ ।
नागरिक आन्दोलनले सोमबार विज्ञप्ति जारी गर्दै प्रतिपक्षी गठबन्धनसित सत्ताको नेतृत्व गर्ने मात्र नभई ओली सरकारले गरेका भ्रष्टाचार छानबिन गर्न माग गरेको हो ।
नागरिक आन्दोलनले सर्वोच्च अदालतको सोमबारको फैसलाले संविधानको सर्वोच्चता स्थापना गर्नुका साथै निरंकुशता र स्वेच्छाचारिताको नग्न अभ्यासलाई खारेज गरेको पनि बताएको छ । आमनागरिकको अग्रगामी चेतना र प्रतिगमनविरोधी शक्तिहरूको निरन्तर प्रतिरोधबाट यो उपलब्धि हासिल भएको नागरिक आन्दोलनको ठहर छ ।
‘आम नागरिकको अग्रगामी चेतना र प्रतिगमनविरोधी शक्तिहरूको निरन्तर प्रतिरोधबाट मात्र यो उपलब्धि हासिल भएको हो र प्रतिगामी ओली प्रवृत्ति परास्त भएको छ,’ नागरिक आन्दोलनले भनेको छ, ‘साथै संविधानले अधुरो छाडेका विविध जनसमुदायका अधिकार स्थापित गर्दै समावेशी र सामाजिक न्यायसहितको समृद्ध लोकतन्त्र निर्माण गर्ने नयाँ यात्राको सम्भावना देखिएको छ ।’
नागरिक आन्दोलनले अब गठन हुने सरकारले कोरोना महामारीका कारण आइपरेको संकट समाधान गर्न पहल गर्न आग्रह गरेको छ । ‘अब गठन हुने सरकारले कोरोना महामारीका कारण आइपरेको गम्भीर राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संकटको हल गर्नुपर्छ । जनताका आधारभूत शिक्षा, स्वास्थ्य, सामाजिक, न्यायजस्ता मौलिक हक सुनिश्चित गर्न योजना ल्याउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
