सरकार नबन्दै देउवामाथि सङ्कट - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

सरकार नबन्दै देउवामाथि सङ्कट



काठमाडौं- सरकार नबन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संकट आइपरेको छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले साथ छाड्ने भएको छ ।

नेता नेपालले विपक्षी गठबन्धनका नेताहरुलाई आफू अब गठबन्धनमा नरहेको जानकारी गराएका छन्। नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतको कोटेश्वरमा बसेको बैठकमा नेता नेपालले आफू अब विपक्षी गठबन्धनमा नरहेको जानकारी गराएका हुन्।

उनले संविधानको रक्षा, लोकतन्त्र र गणतन्त्रको पक्षमा आफू यसअघि विपक्षी गठबन्धनमा रहेको भन्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै त्यो उपलब्धी हाँसिल भएकाले अब गठबन्धनमा नरहने जानकारी गराएका हुन्।

साथै नेता नेपालले नेकपा एमालेमा जारी विवाद अन्त्यका लागि कार्यदलले तयार गरको सहमतिको दस्ताबेजअनुसार अब एमालेमै रहेर पार्टी एक बनाउने प्रक्रियामा लाग्ने बताएका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार नेता नेपालले सर्वोच्च अदालतको परमादेशअनुसार प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति देउवालाई सफल कार्यकालको शुभकामनासमेत दिए।

उनले देउवालाई संविधान, लोकतन्त्र, संघीयता रक्षाका लागि दृढ भएर लाग्न सुझाव दिादै लोकतन्त्रको लडाइँमा आफ्नो साथ रहने आश्वासन समेत दिएका छन्।