'हस्ताक्षर फैसलासम्मलाई मात्रै हो, अब पार्टीको निर्णय अनुसार चल्छ' - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

‘हस्ताक्षर फैसलासम्मलाई मात्रै हो, अब पार्टीको निर्णय अनुसार चल्छ’



काठमाडौं- एमालेका वरिष्ठ नेता नेपाल पक्षका नेता रघुजी पन्तले हस्ताक्षर फिर्ता नलिने विषय सर्वोच्च अदालतको फैसलासम्म मात्रै भएको बताएका छन् ।

नेता नेपालको कोटेश्वस्थित निवासमा बसेको पाँच दलिय विपक्षी गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पन्तले हस्ताक्षर फिर्ता नलिने विषय सर्वोच्च अदालतको फैसलासम्म भएको बताए ।

पन्तले गठबन्धनमा आफूहरूको निरन्तरता नरहन सक्ने उल्लेख गर्दै पहिला पार्टीलाई र त्यसपछि सिंगो मुलुकको राजनीतिलाई एकताबद्ध बनाउने बताए ।

‘गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन, हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो,’ उनले भने, ‘अब पार्टीले जे भन्छ त्यहि गर्छौँ, सिंगो एमालेलाई एकताबद्ध बनाउने हाम्रो प्रयास हो ।’

सर्वोच्चको आदेशसँगै नयाँ परिस्थिति सिर्जना भएकाले परिवर्तित अवस्था बुझ्न नेताहरूलाई आग्रह गरेको जानकारी दिए । एकलौटी र एकपक्षीय ढङ्गले चल्ने कुराको सधैँ विपक्षमा रहँदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढङ्गले नचल्न आग्रह गरेको जानकारी दिए ।

उनले भने, ‘एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरुसंग सरसल्लाह गरेर, उनीहरुलाई पनि साथमा लिएर अलि फराकिलो ढंगले सरकार बनाउने प्रयत्न गर्नुहोस् । लोकतन्त्र, गणतन्त्र संविधान र संघीयताको रक्षाका लागि दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ ।’