प्रधानन्यायाधीश राणामाथि खनिए महेश बस्नेत - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

प्रधानन्यायाधीश राणामाथि खनिए महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले प्रधानन्यायाधीश राणालाई राजनीति नगर्न चेतावनी दिएका छन्।

सर्वोच्च अदालतले संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशको विरोधमा नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्।

सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौँको माइतीघर मण्डला नेकपा एमाले ओली निकट युवा संघले गरेको विरोध कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश राणा पूर्वप्रधानन्याधीश खिलराज रेग्मीको नयाँ संस्करण बन्न लागेको टिप्पणी गरे।

उनले राणाको नाम लिँदै प्रधानमन्त्री बन्न खोजेको हो ? भन्दै आक्रोश व्यक्त गरेका छन् ।

“अदालतलाई घाँस खुवाएर फैसला आयो,” उनले भने, “देउवालाई प्रधानमन्त्री बनाएपछि सदनमा परीक्षण गर्नुपर्छ । माओवादीलाई चुनावपछि कहाँ खोज्ने हो ? अदालतले राजनीति गर्न खोजेको हो ? तपाईं प्रधानमन्त्री बन्ने डिजाइनका साथ फैसला आएको हो ? कुनै मानेमा स्वीकार गर्दैनौँ । अब मुलुक द्वन्द्वमा प्रवेश गरेको छ ।”

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएर प्रधानन्यायाधीश राणाले राजनीति गरेको उनको भनाइ छ। उनले राजनीति गर्ने भए राजनीतिक पार्टीमा सामेल हुन राणालाई चुनौती दिएका छन्। राजनीति गर्ने मन भए नेपाली कांग्रेस या एमालेमा सामेल हुन उनले चेतावनी दिए। युवा संघले सर्वोच्चको फैसलाविरुद्ध देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिएको छ।