नयाँ बिहान-कविता - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

नयाँ बिहान-कविता



यल्जी विवश
शीतल बतासको-डाडु
उल्टिरहयो,
पल्टिरहयो!
तातो आगोको भुब्रोले-घाम
पकाईरहयो,सेलाईरहयो,तताईरहयो!

छैन,

न गुनासो छ,कहिलेकाहीँ अलिअली टुक्रिने
त्यो कालो-धिर पहाडसँग !
न गुनासो छ,तातो र चिसोमा
सधैँ एउटै गीतको आलापको आरोह-अवरोह मात्र
फलाकिरहने त्यो-अनौठो समुन्द्रसँग !

छैन,
गुनासो थोरै पनि छैन-
रोबोट र रोबोटले बनाएको भु-उपग्रह सँग पनि,
विज्ञान जन्माउनेहरुसँग पनि,

म कति नै हिँड्छु र?
हिड्नको लागि यो माटोको बाटोहरु नै काफी छन्,
अलि बढी हिँडे
त्यो पानीको बाटो छ,
र हावाको बाटो पनि छ !

म कति नै लेख्छु र?
मेरो कयौँ पुस्ताले लेखेर भर्न नसक्ने
यो आकाशको पन्ना खाली नै छ,
पाताल,बायूमण्डल सबका सब खाली छन् !

म चाहन्छु-
केवल
यो एक मुठी श्वासलाई
स्वर्गसँग मुछेर कपाकप खाउँ,
किनभने
यो श्वास भन्दा अर्को स्वर्ग
आजसम्म कसले चुमेर फर्कियो?

अलिकति
देउता बन्नेहरुले कस्तो कथामा फिल्म बनाए?-
के त्यही हेरेर
रुनु, हाँस्नु, दुख्नु, चिच्याउनु,भावुक हुनु, गम्भीर बन्नु मात्रै जिन्दगी हो र?

प्रत्येक रातले
गुलाबको पातमा लेखेर छोडेको
बिहानीको एक अनुच्छेद सित नै
जीवनको गीत होइन र?

फेरि
आज एउटा नयाँ बिहाँन
पातपात मा पोखिएको छ ।