सर्वोच्चले फैसलाको तयारी गर्दा देउवाले डाके कांग्रेस पदाधिकारी बैठक
काठमाडौं । १४ औं महाधिवेशनको माहोल तातिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो सानेपास्थित पार्टी कार्यालयमा बैठक बोलाएका छन् ।
यता सर्वोच्च अदालतले संसद विघटन सम्वन्धि मुद्दामा फैसला गर्ने तयारी गरिरहेका बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको बताइएको छ । यस्तो अवस्थामा बोलाईएको बैठकलाई अर्थपूर्ण मानीएको छ ।
बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता महादेव यादव संयोजक रहेको निर्वाचन समितिले महाधिवेशनको तयारी अगाडि बढाएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६-१९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका तय गरिएको छ ।
रमेश लेखक संयोजक रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता टुंग्याउने काम अन्तिम चरणमा पुर्याएको छ । समितिका प्रवक्ता प्रदीप पौडेलले असार मसान्तसम्म क्रियाशील सदस्यताको काम सकिने जानकारी दिए ।