माधव नेपालले भने: यो व्याख्या गलत र अस्वीकार्य छ
काठमाडौं- नेकपा एमालेको विवाद समाधान भएको भनिएकै बेला एक पक्ष हर्षित बनेको छ भने अर्को पक्ष निराश बनेको छ । कार्यदलले गरेको सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपाल नै सन्तुष्ट छैनन् । अझ बालुवाटारले गरेको व्याख्यामा त नेपालले आपत्ति नै जनाएका छन् ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सहमतिपछि आइतबार मध्यराति सहमतिको गलत व्याख्या गरेको भन्दै नेता नेपालले आपत्ति जनाएका छन्।
आइतबार मध्यराति एमाले कार्यदलले १० बुँदे सहमति जुटाएपछि प्रेस सल्लाहकार थापाले अब अदाललते प्रतिनिधि सभा पुनःस्थापना तथा शेरबहादुर देउवलाई प्रधानमन्त्री नियुक्तिको आदेश नदिने दाबी गर्दै फेसबुकमा स्टाटस लेखेका छन्।
यो व्याख्या कार्यदलभित्र भएको सहमतिको मर्मविपरीत भएको भन्दै नेता नेपालले खण्डन गरेका हुन्।
सोमबार बिहान वक्तव्य जारी गर्दै माधव नेपालले भनेका छन्, ‘हिजो राति नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्मविपरीत छ। यो व्याख्या गलत र अस्वीकार्य छ।
अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु।’