१० बुँदे सहमतिमा माधव नेपालले जनाए असन्तुष्टि
काठमाडौं- नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । आइतबार करिब १३ घण्टाअघि बसेको कार्यदलको बैठकले पार्टी एकताका लागि भन्दै १० बुँदे सहमति गरेको हो ।
उक्त सहमति पछाडी विभिन्न खाले प्रतिक्रियाहरू आईरहेका छन् । यस्तैमा एमालेका वरिष्ठ नेता माधव नेपाल कार्यदलले गरेको १० बुँदे सहमतिप्रति असहमति जनाएका छन् ।
सुरुदेखि नै अदालतको फैसलामा असर नपार्नेगरी सहमति गर्नुपर्ने बताएका नेपालले अदालतलाई असर पार्ने गरी सहमतिको प्रचार गरिएको असहमति जनाएका छन् ।
अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ मात्र १०बुँदे सहमति गरेको थियो, जसमा सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने उल्लेख छ ।
सहमतिमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्नेछौँ ।’ यसै बुँदामा बिहानदेखि नेता नेपालले असन्तुष्टि जनाउँदै आएका थिए ।