देउवालाई सर्वसम्मत पार्टी सभापति बनाउन जुटे नेताहरू - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

देउवालाई सर्वसम्मत पार्टी सभापति बनाउन जुटे नेताहरू



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत रूपमा आगामी पार्टी सभापति बनाउन नेताहरू छलफलमा जुटेका छन् । संस्थापन पक्षका नेताहरुले देउवालाई नै सर्वसम्मत रुपमा आगामी पार्टी सभापति बनाउने प्रयत्न गरेका छन्।

केन्द्रीय सदस्य वीरबहादुर बलायरको अग्रसरतामा शनिबार नयाँ बानेश्वरस्थित आनन्द इभेन्टमा भएको छलफलले देउवालाई सर्वसम्मत सभापति बनाउन प्रयास गर्ने निश्कर्ष निकालेको हो।

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर सभापतिमा निर्वाचित भएका देउवा १४ औं महाधिवेशनबाट दाहोरिने तयारीमा छन्।

छलफलमा केन्द्रीय सदस्य बालकृष्ण खाँणले विकसित वर्तमान राजनीतिक घटनाक्रमको केन्द्रमा शेरबहादुर देउवा नै नभएकाले पार्टीमा उनको विकल्प नभएको बताएका थिए। ‘अहिलेको राजनीतिको केन्द्रमा सभापतिजी नै हुनुहुन्छ।

उहाँलाई पार्टी सभापति बनाउँदा हामी सबैका लागि सुखद् नै हुन्छ,’ खाँणले भनेका थिए, ‘उहाँले पुनः एकपटक सभापति हुने आकांक्षा देखाउनुभएको छ। त्यसैले हामी सबै एकजुट भएर उहाँलाई सहयोग गरौं। सकेसम्म सर्वसम्मत बनाउने कोशिस गरौं। नसके उहाँले मित्रवत् प्रतिस्पर्धा गर्नुहुने नै छ।’

छलफलमा सहभागी अन्य नेताहरुले पनि पार्टीमा अहिले देउवाको विकल्प नभएको बताएका थिए।

छलफलमा केन्द्रीय सदस्यहरु खाँण, एनपी साउद, सुरेन्द्र पाण्डे, सीता गुरुङ, शंकर भण्डारी, चीनकाजी श्रेष्ठ, भीष्मराज आङ्दाम्बे, महेश चौरासिया, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डिला संग्रौला, पार्वती डिसी चौधरी, महेन्द्र यादव, अजय चौरासिया, किरण गिरीलगायत उपस्थित थिए।