प्रचण्डमाथि खनिए टोपबहादुर रायमाझी - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

प्रचण्डमाथि खनिए टोपबहादुर रायमाझी



काठमाडौं- पछिल्लो समय माओवादी छाडेर एमाले ओली समुहमा लागेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । उनले अध्यक्ष प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप समेत लगाएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमै रहेर ओलीलाई समर्थन गरेका टोपबहादुरले प्रचण्डकै कारण पार्टी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दे आएको बताए । त्यतिमात्र होइन उनले माओवादीलाई सुधार्न संघर्ष आफूहरूले गरेको पनि बताए ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता टोपबहादुरले ६९ सालमा नाममात्रको महाधिवेशन गरेर आफै नेता बनेको बताए । उनले विगत ३३ बर्ष देखि विना बिचार तथा विधि र प्रक्रिया विना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप लगाए । उनले दाहालको कार्यशैलीका कारण पार्टी कमजोर हुदै गएको बताए ।

कार्यक्रममा उनले भने, “गएको चुनावमा नेकपा एमालेसंग नमिलेको हुन्थ्यो भने कतिऔ पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ बर्ष सम्म कुनै विचार, कुनै विधि विना, कुनै प्रक्रियामा नजाने , कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाहे छ । अझै शान्ति प्रक्रियामा आईसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरंकुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुदै गयो । किन कमजोर भयो ? विचारमा, विधिमा ध्यान गएन । कार्यशैली पनि ठिक भएन । चिन्तनमा पनि ठिक भएन । त्यसकारणले पार्टी तुईदै तुईदै गएपछि पार्टी कमजोर भयो । यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले ?”

माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफुहरु संघर्ष गरिरहेको उनले स्पष्ट पारे । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको दाबी उनले गरे ।