लागातार बैठक, प्रगति शुन्य, ‘पेन्डुलम’ बन्दै नेताहरू
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिइरहेका छन् ।
नेताहरूको यस्तो कार्यशैलीले एमाले एकजुट बन्न कठिन हुन सक्ने भन्दै आमकार्यकर्ताहरूमा आक्रोश छाउन पुगेको छ । कुनै सहमति हुन सकेको छैन । एमाले एकतामा सहमति हुने हो कि विग्रह आउने हो भन्नेमा अझै अन्योल छ । यस्तो अन्योलता बढ्न थालेपछि कार्यकर्ता तहमा आक्रोश छाउन पुगेको हो ।
सिंहदरबारमा बिहीबार कार्यदलको बैठक एकै दिन दुईपटक बसे पनि कुनै सहमति जुट्न सकेन । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलका सदस्यहरूले जनाएका छन् । छलफल जारी रहेको र शुक्रबार पुनः छलफल हुने नेताहरूले बताए । वार्ता निष्कर्षविहीन भए पनि सधैं सहमति हुने क्रममा छ भन्दै नेताहरूले झुट बोल्न थालेकाले उनीहरू ‘पेन्डु्लम’ बन्दै जान थालेको आमकार्यकर्ताको निष्कर्ष छ ।
नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले कार्यदलले सहमति जुटाएरै छोड्ने विश्वास व्यक्त गरे । छलफल जारी रहेको र शुक्रबार पुनः कार्यदलको बैठक बस्ने सहमति भएको उनले बताए । ‘छलफल जारी नै छ, हामी विश्वस्त छौँ कि कार्यदलले सहमतिका साथ पार्टी एकतालाई उचित निष्कर्षमा पु¥याउनेछ, हामी भोलि (शुक्रबार) पुनः बैठक बस्नेछौं,’ नेम्वाङले भने ।
यसअघि बिहीबार नै बसेको पहिलो बैठकपश्चात् साँझ बस्ने अर्को बैठकबाट सहमतिका साथ निष्कर्षमा पुग्ने जानकारी नेम्वाङले गराएका थिए । तर कार्यदलको बैठक निरन्तर जारी रहेको भए पनि सहमति जुट्न सकेको छैन ।
एमालेका उपमहासचिव एवं कार्यदलका सदस्य घनश्याम भुषालले कार्यदलभित्र कुनै सहमति हुन नसकेको बताए । विगत १० दिनअघि एमालेमा जुन विवाद थियो त्योभन्दा अघि थप कुनै प्रगति नभएको उनले बताए । बिहीबार साँझ बसेको बैठकमा कार्यदलका सदस्य रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि थप छलफल अगाडि बढ्न सकेन । एमाले उपमहासचिव समेत रहेका उपप्रधानमन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुपर्ने कारणले कार्यदलको बैठकमा सहभागी हुन नसकेको बताइएको छ ।
‘हामी १० दिनअघि जहाँ थियांै, आज पनि त्यही छौं । १० दिन अघि केही एजेन्डाहरू तय गरेका थियौं । विभिन्न कारणले हामी ठोस र मूर्त योगदान गर्न सकेका छैनौं । कुनै प्रगति भएको छैन,’ भुषालले भने ।
बिहीबारसम्म आइपुग्दा पार्टीभित्र देखिएको विवाद समाधान उन्मुख भएको र त्यसलाई मूर्तरूप दिनुभन्दा अघि शीर्ष नेताबीचसमेत छलफल भएको थियो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार राति छलफल भएको थियो । ओली र नेपालबीच भएको छलफलमा समेत कुनै सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिहीबार पुनः बस्यो । तर, कार्यदलबीच समेत सहमति जुट्न नसको बैठक लम्बिँदै गएको छ ।
ओली सर्वोच्च अदालतको फैसला अघि नै नेपाल समूहले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने अडानमा छन् । हस्ताक्षर फिर्ता नभए अदालतको फैसला स्वीकार गर्दै त्यसपछि पनि आफू नेतृत्वकै सरकारको निरन्तरता हुनुपर्नेमा नेपाल समूहको प्रतिबद्धता आउनुपर्ने ओलीको अडान छ ।
तर, नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने भन्दै अदालतको फैसलाअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । नेपाल पार्टी एकतापश्चात् आफू निकटका नेताहरूको अवस्था सुरक्षित होस् भन्ने रणनीतिमा छन् । एक व्यक्ति एक प्रमुख जिम्मेवारी हुनुपर्ने अडानमा नेपाल छन् । साथै पार्टीको आधिकारिक पत्र एवं निर्णय सहमतिमा हुनुपर्ने र त्यस्तो पत्रमा आफ्नो पनि हस्ताक्षर हुनुपर्ने सर्त नेपालले राखेका छन् । त्यसमा ओली सहमत हुन सकेका छैनन् ।
अन्य विषयमा कार्यदल सहमतिनजिक पुगे पनि ओली र नेपालले हस्ताक्षरसहित घोषणा गर्ने पार्टी एकताको वक्तव्यमा उल्लेख हुने साझा भाषाको खोजीमा रहेको एमाले स्रोतले जनाएको छ । ओली र नेपाल अदालतको फैसलाअनुसार अघि बढ्ने, २ जेठ २०७५ कै अवस्थाबाट पार्टी र जनवर्गीय संगठनहरूको सञ्चालन गर्ने विषयमा सहमत छन् । यस्तै केन्द्रीय कमिटीको संख्या र एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अझै सहमति हुन नसकेको कार्यदलका एक सदस्यले बताए ।
पार्टी नेताकार्यकर्ताको दबाबमा शीर्ष नेता कार्यदललाई सक्रिय बनाउँदै पार्टी एकता जोगाउनमा सक्रिय हँुदै आइरहेका छन् । कार्यदलमा ओली समूहबाट संयोजक नेम्वाङ, सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल समूहबाट भीम रावल संयोजक र सदस्यमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेको राजधानीले लेखेको छ ।