मूल्यवृद्धि विरुद्ध उत्रिए संयुक्त विद्यार्थी संगठन, ट्याङ्कर र पम्प बन्द गर्ने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मूल्यवृद्धि विरुद्ध उत्रिए संयुक्त विद्यार्थी संगठन, ट्याङ्कर र पम्प बन्द गर्ने



काठमाडौं- संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि ७२ घण्टाभित्र फिर्ता लिन नेपाल आयल निगमलाई अल्टिमेटम दिएका छन्।

बिहीबार विज्ञप्ति प्रकाशित गरी उनीहरुले उक्त समयसीमा भित्र आफ्ना माग पुरा नभए पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर र पम्प बन्द गर्ने चेतावनी दिएका छन्।

‘यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करहरू अनिश्चितकालका लागि बन्द गर्ने साथै नेपाल आयल निगमका कर्मचारीहरुका सवारी साधन चल्न नदिने कार्यक्रम घोषणा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

संगठनले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आज निगममा ज्ञापनपत्रसमेत बुझाएका थिए। विद्यार्थी नेताहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्य वृद्धि खारेज गर्न माग गरेका थिए।

पछिल्लो पटक निगमले गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ। डिजेल/मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ।

हवाई इन्धन आन्तरिकतर्फ ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ। खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ।