एमाले बैठक सकियो: ओली समूह सहमतिबाट 'ब्याक' भएको आरोप - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमाले बैठक सकियो: ओली समूह सहमतिबाट ‘ब्याक’ भएको आरोप



काठमाडौं- नेकपा (एमाले) को विवाद समाधान गर्ने अन्तिम चरणको भनिएको कार्यदलको बैठक छलफल बिना नै सम्पन्न भएको छ। अन्तिम चरणको सहमति मात्र बाँकी रहेको भन्दै प्रचार गरिएको बैठक पहिलेको जस्तो सहज हुन नसकेको बताइएको छ ।

ठुलै तामझामका साथ बिहीबार साँझ सिंहदरबारमा बोलाइएको बैठक करीब एक घण्टा चलेपनि सहमत भने बन्न सकेको छैन। शुक्रबार बिहान साढे ११ बजे पुनः बस्ने गरी बैठक सकिएको एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। तर नेपाल पक्षले भने ओली समूह एकताको लागि इमान्दार नभएकाले बैठकबाट कुनै प्रगती नभएको बताएका छन् ।

अन्तिम भनिएको बैठक पनि सहमति बिना सकिएपछि केहि एमाले वृत्तमा तरङ्ग फैलिएको छ । ‘हामी टुंगोमा पुगिसकेका छैनौं,’ नेम्वाङले भने, ‘आजसम्म जे छलफल भएको छ, त्यसबाट हामी आशावादी छौं, भोलि बस्ने बैठकले टुंगोमा पुर्‍याउनेछ।’ तीन वर्षदेखिको विवादमा ९–१० दिनमा अहिलेको अवस्थामा पुर्‍याउनु सकारात्मक भएको नेम्वाङले बताए।

एमाले वरिष्ठ नेता माधव नेपाल पक्षबाट कार्यदलमा सहभागी एक सदस्यले चाहिँ अध्यक्ष केपी शर्मा ओली पक्ष पार्टी एकताका लागि गम्भीर नभएको आरोप लगाए। नाम उल्लेख गर्न नचाहने ती सदस्यले भने, ‘दश दिन अगाडि हामी जहाँ थियौं, आज पनि त्यहीं छौं।’ बैठकमा ओली समूह पहिलेजस्तो नखुलेको समेत एक नेताले बताएका छन्।

माधव नेपाल समूहका कतिपय नेताहरूले ओली समूह सहमतिबाट ब्याक भएको समेत आरोप लगाएका छन् । आजको बैठकमा उपमहासचिव विष्णु पौडेल सहभागी थिएनन्।