स्पेनलाई हराउँदै इटाली फाइनलमा, बन्यो अपराजित कीर्तिमान - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

स्पेनलाई हराउँदै इटाली फाइनलमा, बन्यो अपराजित कीर्तिमान



काठमाडौं- तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा पुगेको छ। इंग्ल्यान्डको वेम्बलीमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो।

खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्यो । पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे। म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन्।

स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे। तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन्। पेनाल्टीमा खेल जानु अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो।

खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए। फेरान टोरेसको स्थानमा ६२ औं मिनेटमा मैदान छिरेका उनले डानिल ओल्मोको पासमा गोल गरेका थिए।

यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ। इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो। इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो।

इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो।