माधव नेपाल फकाउन पौडेल र नेम्वाङ पुगे कोटेश्वर - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

माधव नेपाल फकाउन पौडेल र नेम्वाङ पुगे कोटेश्वर



काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच समझदारी बनाउन दोस्रो पुस्ताका नेताहरू लागिपरेका छन् । ओलीले हस्ताक्षर फिर्ता गर्न अल्टिमेटम दिएपछि झनै जटिल बनेको एकता प्रकृया मिलाउन ओली समुहका नेताहरू आइतबार बिहानैबाट खटिएका छन् ।

ओली पक्षका नेताहरू आइतबार बिहानै मावधकुमार नेपाललाई फकाउन कोटेवश्वर पुगेका छन्। त्याग गरेरै भएपनि एकता गर्नुपर्ने भन्दै ओलीलाई दवाव दिइरहेका नेताहरू नेता नेपाल निवास पुगेको बताइएको छ ।

ओली निकट नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङ वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेका हुन्। उनीहरूबीच अहिले छलफल चलिरहेको एक नेताले बताए।

प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता गराउन पौडेल र नेम्वाङ कोटेश्वर पुगेको जनाएको छ। शनिबार ओली र नेपालबीच फोन संवाद भएको थियो।

दुवै नेताबीचको फोन संवादमा कुनै सहमति बन्न सकेको थिएन। ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए भने नेपालले पार्टी एकतासँग हस्ताक्षरको कुनै सम्बन्ध नभएको भन्दै फिर्ता नलिने जनाएका थिए।

यअसघि शुक्रबार पनि दुवै नेताबीच फोन संवाद भएको थियो। त्यसमा ओलीले केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका थिए भने नेपालले केन्द्रीय कमिटी बैठक रोक्न अनुरोध गरेका थिए।

त्यसयता दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुट्दै आएका छन्। तर, कुनै सहमति बन्न सकेको छैन। त्यसैले दुवै शीर्ष नेताबीच भेटवार्ता गराएर सहमति खोज्ने प्रयास गरिएको कोटेश्वरमा रहेका अर्का नेताले बताए।