संवैधानिक इजलासको बहस अन्तिम चरणमा: कहिले होला फैसला ?
काठमाडौं- प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपत विद्यादेवी भण्डारीले मध्यरातमा विघटन गरेको संसद पुनर्स्थापनाक माग राखेर विपक्षी गठबन्धनले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार नौं गएदेखि भैरहेको छ ।
संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको मुद्दा छिनोफानो हुने अन्तिम चरणमा पुगेको छ । समय तालिका नै छुट्टाएर गरिएको सुनुवाई अन्तिम चरणमा पुगेपछि सर्वत्र चासोले हेरिएको छ । सार्वजनिक महत्वको बिषय भएकाले पनि सामाजिक संजालदेखि संचारमाध्यमसम्म यहि मुद्दाको चर्चा र बहस भैरहेको छ ।
३२ घण्टा छुट्टाइएको समय अनुसार सरकार पक्ष र निवेदक पक्षलाई १५-१५ घण्टा दिइएको छ भने एमिकस क्युरीलाई २ घण्टा समय तोकिएको थियो । सरकार पक्षको समयबाट १ घण्टा समय सभामुखका कानुन व्यवसायीलाई दिइएको छ ।
यस मुद्दा पक्षका कानुन व्यवसायीले १२ घण्टा बहस गरिसकेका छन् । १२ घण्टामा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरूसँग अब जवाफी बहसका लागि ३ घण्टा मात्र समय बाँकी छ । सरकार पक्षसँग अब बहसका लागि डेढ घण्टा मात्र समय छ । शुक्रबार सरकार पक्षको बहसको समय सकिनेछ । त्यसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्ने तयारी छ ।
श्क्रबारको संवैधानिक इजलासमा सरकार पक्षका अधिवक्ताले १ बजेसम्म बहस सक्ने र त्यसपछि सभामुख पक्षका ५ जना कानुन व्यवसायीले बहस गर्नेछन् । सभामुख पक्षको बहस २० आइतबार सकिनेछ । सभामुखको बहस सकिएलगत्तै आइतबार नै एमिकस क्युरीको बहस पनि सकिनेछ ।
त्यसपछि २१ असार सोमबार रिट निवेदकले जवाफी बहस गर्नेछन् । रिट निवेदकले जवाफी बहसका लागि पाएको ३ घण्टा सोमबार नै सकिनेछ । त्यसपछि सर्वोच्च अदालतले फैसलाको तयारी गर्नेछ । फैसला कहिले आउने यकिन नभएपनि २२ देखि २४ गतेसम्म फैसला गर्ने तयारी सर्वोच्चले गरेको बताइएको छ ।
७ जेठमा संविधानको धारा ७६ को उपधारा ५ अनुसार केपी शर्मा ओली र शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा गरेको दाबी अस्वीकार गर्दै राष्ट्रपतिले ८ जेठमा मन्त्रिपरिषदको सिफारिसमा संसद् विघटन गरेकी थिइन् ।
सोहि बिषयलाई लिएर संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा ३० थान रिट परेका थिए । सोह रिटको सुनुवाई गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको थियो । इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई रहेका छन् ।