अन्तत: झुके शिक्षामन्त्री श्रेष्ठ, रूपा प्रकरणमा मागे माफी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

अन्तत: झुके शिक्षामन्त्री श्रेष्ठ, रूपा प्रकरणमा मागे माफी



काठमाडौं- जातीय विभेद गर्ने घरबेटीलाई छुटाएर आफ्नै गाडीमा लागेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठमाफी माग्न राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्।

रूपा सुनार प्रकरणमा घरबेटीलाई छुटाएको भन्दै अहिले मन्त्री श्रेष्ठविरुद्ध अहिले देशव्यापी विरोध भैरहेको छ । पत्रकार रूपा सुनारलाई जातका आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन झण्डावाल गाडी लिएर उनी प्रहरी कार्यालय पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस विषयमा मन्त्री श्रेष्ठसँग सोधेका थिए। जातिय छूवाछूत र भेदभावलाई प्रश्रय हुनेगरी मन्त्रीले काम गरेको भन्दै उनको आलोचना भइरहेको छ।

मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले अपराध गरेर माफी माग्ने र दिने अधिकार पीडित र अदालत बाहेक कसैलाई नभएको टिप्पणी गरेकी छन्। आयोग पीडितको संरक्षक हुनुपर्नेमा पीडकको संरक्षक भएको अन्सारीको आरोप छ।

‘राष्ट्रिय मानव अधिकार आयोग कसको? सरकार जसले संविधान, विधि, प्रक्रियाको धज्जी उडाउँदै गरेको नियुक्ति, त्यसैलाई न सलाम ठोक्छ’, अन्सारीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्।

मन्त्री श्रेष्ठ आयोगमा पुगेको आयोगकै एक सदस्यले पुष्टि गरेका छन्।