सार्वजनिक सवारीसाधन चल्ने, निषेधाज्ञा थप खुकुलो - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सार्वजनिक सवारीसाधन चल्ने, निषेधाज्ञा थप खुकुलो



काठमाडौं- काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउने तयारी गरिएको छ । निषेधाज्ञा थप खुकुलो पारेर एक हप्ता थप हुने भएको छ।

वैशाख १६ देखि जारी निषेधाज्ञा पछिल्लो पटक थप गरिएको आज सकिँदै छ। खुकुलोसहित एक हप्ता थप्ने तयारी गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

थप भएको निषेधाज्ञामा उपत्यकामा जोरबिजोर प्रणालीमार्फत सार्वजनिक सवारी सञ्चालन गर्न प्रशासन कार्यालयहरू एकमत भएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठक उक्त निष्कर्षमा पुगेको हो।

तर अन्य के–कस्ता मापदण्ड लागू गर्ने भन्नेमा अझै निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। ‘जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिने कि भन्नेबारे छलफल भएको हो,’ उनले भने, ‘तर कसलाई दिने, कसलाई नदिने भन्नेबारे कुनै निर्णय भइसकेको छैन, सोमबार आदेश जारी भएपछि मात्र यसबारे थाहा हुनेछ।’

यातायात व्यवसायीले भने यसबारे असन्तुष्टि जनाएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणालीमार्फत गाडी चलाउँदा यात्रुको चाप बढेर कोरोना संक्रमण झन् फैलिए त्यसको जिम्मेवार आफूहरू नहुने बताए। सबैखाले गाडी चल्न दिएर भीडभाड कम गर्नुपर्ने उनको सुझाव छ।