अदालतको आदेश नमान्ने प्रधानमन्त्री ओलीको संकेत - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

अदालतको आदेश नमान्ने प्रधानमन्त्री ओलीको संकेत



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति गम्भीर आरोप लगाएका छन् । उनले न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको भन्दै अदालतको आदेश नमान्ने संकेत गरेका छन्। उनले अदालतका आदेशहरू सेटिङमा आउन थालेको बताए।

प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवं प्रकाशित पुस्तकहरूको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायालयको फैसला भन्दा अगाडी नै भाषण गरेर बताइनुले अदालतप्रति शंका उब्जाएको बताएका हुन् ।

सर्वोच्च अदालतले ८ असार, २१ र २७ जेठ प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा सहभागी भएका मन्त्रीहरूको शपथ र कार्यविभाजन संविधान अनुकूल नभएको भन्दै मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

यस विषयमा अघिल्लो दिन नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतले यस्तो गर्देछ भनी अभिव्यक्ति दिएकाले न्यायालयको निष्पक्षतामााथि प्रश्न खडा भएको प्रधानमन्त्रीले बताए ।

उनले भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, ‘भोलि अदालतले हटाउँदै छ भन्ने सूचना मैले पाएको छु । न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ? एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ , नत्र भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’

उनले हरेक प्रणालीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफ्नै कामले प्रमाणित गर्नुपर्ने भन्दै उनले त्यसअघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको टिप्पणी गरेका छन् ।