अघिल्लो दिन धादिङमा स्याल करायो र अर्कोदिन सर्वोच्चमा कुखुरा हरायो: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

अघिल्लो दिन धादिङमा स्याल करायो र अर्कोदिन सर्वोच्चमा कुखुरा हरायो: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ‌ओलीले अदालत ‘सेटिङ’मा चलेको संकेत गरेका छन् । अघिल्लो दिन धादिङमा स्याल कराएको र अर्कोदिन कुखुरा हराएको भन्दै उनले अदालत कसले ‘सेटिङ’ गर्छ भन्ने प्रष्ट भएको बताएका छन्।

शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिको फैसला वा प्रधानमन्त्री छान्ने अधिकार सर्वोच्च अदालतलाई दिइएको टिप्पणी समेत गरे।

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो दिन धादिङमा भनेअनुसार नै भोलिपल्ट मन्त्रिपरिषद् विस्तार र पुनर्गठनका विषयमा अदालतबाट आदेश आएको भन्दै यो कसरी भएको भनेर प्रश्न उठाए।

धादिङमा अघिल्लो दिनै पछि नियुक्त गरिएका मन्त्रीहरू भोलि अदालतले हटाउँदै छ भन्ने सूचना पाएको छु भनेर प्रचण्डले भनेको र साेही अनुसार अदालतको फैसला आएको प्रधानमन्त्रीले बताए।

‘न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले? एउटा हल्ला चर्चा छ नि ‘सेटिङ’ भन्ने, खुब चल्छ। नभए भोलिपल्ट कुखुरो हराउनु र अघिल्लो दिनै धादिङमा स्याल कराउनू। कसरी त्यो भयो? एउटा गम्भीर प्रश्न हो’, उनले भने।

यस्तो कुरामा एकछिनका लागि खुशी वा दु:खी हुने भन्दा पनि प्रणालीप्रति नै सजक हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

‘राजनीतिको फैसला वा प्रधानमन्त्री छान्ने सर्वोच्च अदालतलाई दिन खोजेपछि के हुन्छ? राजनीतिक विषयको टुंगो राजनीतिक संस्थाहरुले वा पार्टीहरुले लगाउनु पर्ने ठाउँमा अदालतबाट राजनीतिक फैसला खोजेपछि अदालतले संविधान र कानूनको कुरा गर्ने हो। राजनीति होइन। अब अदालतबाट निरुपन गर्न खोजिँदै छ’, प्रधानमन्त्री ओलीले भने।

उनले यसमा बाह्य हस्तक्षेप हुन सक्ने पनि बताए। ‘राजनीतिलाई राजनीति भन्दा राजनीति गर्ने थलो.. संसद्‌मा पनि हुन नदिने राजनीति अन्तै लगेर टुंगो गर्ने । अहिले एकैछिन मजा आउला, मन्त्रीहरु सबै हटाइदिएर प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो भयो। खुचिङ पर्‍यो भन्ने होला’, ‌ओलीले थपे, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए। त्यो कसरी गरे गजबको कुरा छ।’