इजलासमै राष्ट्रपतिमाथि खनिए संविधानविद् भट्टराई: निकाले महाअभियोगको प्रसङ्ग - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

इजलासमै राष्ट्रपतिमाथि खनिए संविधानविद् भट्टराई: निकाले महाअभियोगको प्रसङ्ग



काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध निरन्तर बहस भैरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिटमा अहिले बहस भैरहेको छ ।

यस्तैमा शुक्रबारको बहसमा संविधानविद् टीकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउनुपर्ने बताएका छन् । उनले राष्ट्रपति भण्डारीले महाभियोग लाग्ने काम गरेको बताएका छन् ।

उनले भने, “संवैधानिक दायित्व निर्वाह गर्दिन भन्ने अधिकार राष्ट्रपतिलाई छैन, राष्ट्रपतिबाट भएका काम कारबाहीविरुद्ध न्यायिक पुनरावलोकन हुँदैन भन्ने मान्यता संविधानले स्वीकार गर्दैन । संविधानको धारा १३३ ले यो व्यवस्था स्वीकार गर्दैन । राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गर्नुभएको छ ।”

उनले अगाडी थपे, “राष्ट्रपतिलाई धारा ७६(५) ले कसैलाई पनि नियुक्ति नै नगर्ने अधिकार दिएको छैन । संविधानले तोकेको कर्तव्य निर्वाह नगर्ने पदाधिकारीलाई महाभियोग लगाउने व्यवस्था छ । न्यायाधीशलाई न्याय निरुपणका लागि इजलासमा बस्दिन भन्ने अधिकार हुँदैन । त्यस्तै राष्ट्रपतिलाई पनि आफ्नो दायित्व निर्वाह नगर्ने छुट हुँदैन ।”

संविधानविद भट्टराईले राति ११ बजे महन्थ, राजेन्द्र र केपी ओलीले निवेदन दिँदा स्वीकार गर्ने ? यो बदनीयत होइन ? भन्दै प्रश्न गरेका छन् ।