एमालेभित्र चर्चा: माधव नेपाल राजतन्त्र फर्काउने अभियानमा लागे
काठमाडौं- नेकपा एमालेका नेताहरूले एमालेका वरिष्ठ नेता माधव नेपालले राजतन्त्र फर्काउने अभियानमा लागेको आरोप लगाएका छन् । विपक्षीसंग लागेर राजतन्त्र फर्काउने अभियान थालेको आरोप उनीहरूले लगाएका छन्।
यस्तै राष्ट्रिय सभाका सांसद तथा नेकपा एमाले ओली समुहका नेता खिमलाल भट्टराईले माधव नेपाललाई विपक्षीसँग मिलेर देशमा राजतन्त्र फर्काउन अभियान थालेको बताएका छन्।
उनले माधवकुमार नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य विपक्षी दलका नेताहरूसँग मिलेर मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउन लागेको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होसियार बनौं ।’
बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन नसक्ने बताउँदै नेता भट्टराईले भनेका छन्,’संविधानको धारा ७६ (५) सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनुपर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ ।’