जब टोपबहादुरले आफू एमालेको केन्द्रीय सदस्य पनि नभएको थाहा पाए…
काठमाडौं- शुक्रबार दिउँसो टुप्लुक्क प्रभु साह र टोपबहादुर रायमाझी निर्वाचन आयोग पुगे । साथमै लगिएका वकिललाई वेटिङ रुममै छाडिदिए । अनि, आफूहरु छिरे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकक्षमा ।
पुस ५ को संसद विघटनपछि केपी ओलीतिर लागेका, तर अहिले केपी ओलीबाट वास्ता नगरिएपछि रन्थनिएका यी दुई भाइले प्रमुख निर्वाचन आयुक्तलाई देख्नासाथ सोधे, ‘हामीलाई केन्द्रीय कमिटीबाट (माओवादीको) आधिकारिक रुपमा हटाएको केही आएको छ कि छैन ?’ दिनेशले भने, ‘अनुसूची भरेर केन्द्रीय कमिटीबाट आउनुपर्नेमा अहिलेसम्म त्यस्तो केही पनि आएको छैन । पठाउनुपर्ने ३० दिनभित्र हो । हाम्रो रेकर्डअनुसार तपाईंहरु माओवादीकै मान्छे हुनुुहुन्छ ।’
अनि, प्रभु साहले सोधे, ‘अनि हामी एमालेको केन्द्रीय कमिटी सदस्य भएको रेकर्ड आएको छ कि छैन ?’ दिनेशले भने, ‘आएको छ, तर अभिलेखिकरण गरेको छैन ।’ अनि, टोपबहादुरले जिज्ञासा राखे, ‘ए, त्यसोभए एमालेले हामीलाई केन्द्रीय सदस्य बनाएको होइन रहेछ ?’ दिनेशको भनाइ थियो, ‘एमालेले बनाएर मात्रै हुँदैन हामीले यहाँ अभिलेखिकरण नगरेसम्म आधिकारिक नभएको मात्रै हो ।’
यसपछि दुई भाइको जिज्ञासा थियो, ‘माओवादीतर्फको रेकर्ड के छ ? केन्द्रीय कमिटीमा को–को छन् ?’ दिनेशले जवाफ दिए, ‘यहाँहरुलाई त्यस्तो केही चाहिन्छ भने सूचनाको हकअनुसार पैसा तिरेर त्यो विवरण लैजान सक्नुहुन्छ ।’
आयोगमा ओलीपक्षीय एमालेले १० औँ महाधिवेशन आयोजक कमिटीको नामावली अद्यावधिक गर्ने सुरसार हुँदाहुँदै सर्वोच्च अदालतले कर्णालीका सांसदलाई गरिएको कारवाही फिर्ता गर्दा आयोजक कमिटीको वैधतालाई मानेन । यसपछि आयोग पछाडि हटेको छ ।
उता, प्रभु साहकी पत्नी रिनाकुमारी रौतहटस्थित मौलापुर नगरपालिकामा मेयर थिइन् । माओवादीले उनको पद पनि खोसेको छ । यसरी उनीहरुको न सांसद पद रह्यो, न मन्त्री । हुँदाहुँदा पत्नीको मेयर पनि चट् । चुनाव भयो भने जितिन्न भन्ने पनि बुझिसकेका कारण अहिले टोपबहादुर, प्रभु साहहरु कता जाने, के गर्ने भन्ने द्विविधामा छन् ।
माओवादी छाडेर गएकाहरु अहिले माओवादी केन्द्रको सम्पर्कमा छैनन् । बादलले लगेको केन्द्रीय सदस्य दावा लामामात्रै हुन् । उनी ‘जता बादल दाइ, त्यतै म’ भन्छन् । तर, पत्नी कुमारी मोक्तान बागमति प्रदेश दलको उपनेता छिन् । उनीचाहिँ प्रचण्डसँगै छन् । बादलपत्नी नैनकला र ज्वालाकुमारीको पद पनि १२ दिनमै हिजोदेखि गुमेको छ ।
जम्मा गरेर माओवादीबाट केपीपक्षीय एमालेमा २३ जना गए, तर बादललाई नेता मानेर कोही गएका हैनन् । एमालेबाट ०५४ को माले हुँदै दिनेश पन्थी माओवादी भएका थिए । उनी लुम्बिनी प्रदेशका सांसद पनि थिए । अहिले फेरि एमालेमा फर्किए । र त्यसबापत प्रदेश सांसद गुमाए । बाबुरामपक्षीय प्रदेश सांसद दयाराम न्यौपाने पनि एमालेमा गए । उनी बादललाई नेता मानेर गएका हैनन्, विष्णु पौडेलसँग कुरा गरेर गएका हुन् । फलतः दिनेश र दधिरामको प्रदेशसभा पद गइसक्यो । लेखराजले केन्द्रीय सदस्य एकजना पनि लगेनन् । मन्त्री बनेका गौरीशंकर चौधरी केन्द्रीय सदस्य थिएनन्, सांसदमात्र थिए । टोपबहादुरले लगेको राष्ट्रियसभा सदस्य चन्द्र खड्का हुन् । उनको त्यो पनि पद गयो र त्यहाँबाट एमालेका नेता कांग्रेसको चुनाव चिह्नमा जितेर राष्ट्रियसभामा आएका छन् ।
यसैबीच निर्वाचन आयोगले जसपाको अर्को पक्ष (महन्थ) लाई आफ्नो दलिल पेश गर्न भनेको छ । उपेन्द्र यादवले बहुमत भनेर ३१ जना केन्द्रीय नेताको नाम पेश गरेका छन् । उनले सक्कली दस्तखत लगेका छन् । तर, महन्थहरुको दस्तखत गएको छैन, चिठीमात्रै गएको छ । संघीय सांसदमध्ये राष्ट्रियसभाका ३ मा २ उपेन्द्रसँग छन् । बाँकी १ जना जता गयो त्यतै ४० प्रतिशत पुग्ने अवस्था छ । बिजोग त माओवादी छाड्ने टोपबहादुरहरुसँगै जसपा फुटाएर मन्त्री खान जाने राजेन्द्र महतोहरुको पनि भएको जनआस्थाले लेखेको छ ।