संवैधानिक आयोगहरूमा फेरी २० जना नियुक्त - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

संवैधानिक आयोगहरूमा फेरी २० जना नियुक्त



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका पदाधिकारीमा २० जनालाई नियुक्त गरेकी छन्। संवैधानिक परिषद्को वैशाख २६ गते बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी र सदस्यहरूमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारीलाई नियुक्त गरेकी छन्। त्यस्तै, उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा हरि पौडेल र सुमित्रा श्रेष्ठ तथा निर्वाचन आयोगमा सगुनशमशेर जंगबहादुर राणालाई आयुक्त नियुक्त गरेकी छन्।

राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेनालाई नियुक्त गरिएको छ। त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगमा पनि सदस्यहरू नियुक्त भएका छन्।

प्रमुख प्रतिपक्षी दलका नेता र प्रतिनिधिसभाका सभामुखको उपस्थितिबिनै बसेको परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो। सिफारिस नाममा संसदीय सुनुवाइ हुनुपर्नेमा प्रतिनिधिसभा विघटन भएकाले हुन सकेन।

सिफारिस भएको ४५ दिनसम्म सुनुवाइ हुन नसके स्वतः नियुक्ति हुने व्यवस्थाअनुसार राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरेकी हुन्। त्यस्तै, राष्ट्रपति भण्डारीले बिहीबारै संविधानको धारा १५३ को उपधारा (१) खण्ड (घ) अनुसार वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्यायपरिषद् सदस्य नियुक्त गरेकी छिन्।