संकटमा परेको महन्थ-राजेन्द्र समुहले डाके पार्टीको दुई बैठक - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

संकटमा परेको महन्थ-राजेन्द्र समुहले डाके पार्टीको दुई बैठक



काठमाडौं – सर्वोच्च अदालतले मन्त्रीहरू बर्खास्त गरेपछि जनता समाजवादी पार्टी (जसपा) महन्थ-राजेन्द्र पक्ष आन्तरिक तयारीमा लागेको छ। उपेन्द्र यादवले आफूहरूमाथि कारबाही गरेर पार्टीको आधिकारिकता दाबी गरेपछि संकटमा परेको महन्थ-राजेन्द्र समुहले पार्टीको बैठक डाकेको छ ।

उनीहरू अहिले विघटित संसदीय दलको बैठक बोलाएका छन् भने दलको बैठकसँगै कार्यकारिणी समिति बैठकपनि बोलाएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न महन्थ-राजेन्द्र पक्षले दलको बैठक बोलाएको हो।

सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका जसपा महन्थ–राजेन्द्र पक्षका ११ जना मन्त्री पदमुक्त भएका छन्।

बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको जसपाका एक नेताले जानकारी दिए। सर्वोच्चको पछिल्लो आदेश र विकसित राजनीतिक घटनाबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए। ‘कार्यकारिणी समितिको बैठकपनि बोलाइएको छ, दलको बैठकपछि कार्यकारिणी समिति बैठक बस्छ,’ ती नेताले भने।

निर्वाचन आयोगलाई जवाफ पठाउने निर्णय गर्नका लागि महन्थ-राजेन्द्र पक्षले कार्यकारिणी समिति बैठक बोलाएको बताइएको छ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि आयोगले महन्थ-राजेन्द्र पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र पठाएको छ।