संवैधानिक इजलासमा सुनुवाई सुरू हुँदै: आज कुन कुन अधिवक्ताले गर्दैछन् बहस ? - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

संवैधानिक इजलासमा सुनुवाई सुरू हुँदै: आज कुन कुन अधिवक्ताले गर्दैछन् बहस ?



काठमाडौँ – संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको छ । बिहिबार पनि सुनुवाई सुरू हुँदैछ । संवैधानिक इजलासमा बुधबारदेखि मुद्दामा केन्द्रित बहस भैरहेको छ । बहसका लागि अधिवक्ताहरुलाई समय तोकिएको छ ।

बिहीबार वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, हरिहर दाहाल, दिनमणि पाखरेल, सुनिल पोखरेललगायतले बहस गर्दैछन् । उनीहरु प्रत्येकलाई एक–एक घण्टाको समय दिइएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न तथा संसद विघटन बदर गर्न माग गरि १४६ सांसदका तर्फबाट दायर रिटमा निवेदकका तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन् ।

बुधबार पाँचजना वरिष्ठ अधिवक्ताहरूले बहुमत सांसदले हस्ताक्षर गरेर समर्थन गरेको अवस्थामा संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आधार नपुगेको भन्ने राष्ट्रपतिको निर्णय स्वेच्छाचारी भएको दाबी गरेका थिए ।

अधिवक्ताहरुले राष्ट्रपतिको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका थिए । संवैधानिक हैसियतमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघनमा प्रधानमन्त्री केपी ओलीभन्दा बढि भूमिका खेलेको दाबी गर्दै उनको निर्णयलाई बदर गर्नुपर्ने जिकिर निवेदकतर्फका अधिवक्ताहरुले गरेका हुन् ।

गत जेठ ७ गते शेरबहादुर देउवाले कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षका १४९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए। देउवाको दाबी परेपछि त्यसलाई विवाद बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एमाले संसदीय दल र जसपा संसदीय दलको समर्थन रहेको भन्दै दाबी प्रस्तुत गरे।

दाबी गरिएका सांसदहरु एक अर्का उम्मेद्वारका समर्थनका रुपमा दोहोरिएको भन्दै राष्ट्रपति भण्डारीले ७ गते मध्यराति देउवा र ओली दुवैको दाबी अस्वीकार गर्दै प्रतिनिसभा विघटनको बाटो खोलिदिएका थिइन् ।

लगत्तै ओलीले मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिसभा विघटन सिफारिस गरेपछि जेठ ८ गते बिहान २ बजे प्रतिनिसभा विघटन भएको निर्णय गर्दै चुनावको घोषणा गरेकी थिइन् ।