रोचक बहस: 'राष्ट्रपतिले नाई मलाई त्यहि ओली प्रधानमन्त्री चाहिन्छ भनेझैँ गर्नुभो' - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

रोचक बहस: ‘राष्ट्रपतिले नाई मलाई त्यहि ओली प्रधानमन्त्री चाहिन्छ भनेझैँ गर्नुभो’



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले संसद विघटनविरुद्धको मुद्दामा बहस भैरहेको छ । बुधबारबाट प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि निरन्तर बहस हुनेछ ।

अदालतको बहस रोचक बन्दै गएको छ । आजको बहसमा रिट निवेदकका तर्फबाट गोविन्द बन्दीले बहस गरेका छन् । उनले विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गरेका छन् ।

“कन्फिडेन्स लुज गरेको प्रधानमन्त्रीले फेरि दाबी गर्न मिल्दैन । जसले कन्फिडेन्स लुज गरेको छ, फेरि त्यही व्यक्तिले मलाई प्रधानमन्त्री बनाउनुपर्‍यो भन्न मिल्छ श्रीमान् ?,” बन्दीको प्रश्न थियो ।

बन्दीलाई नै फेरि त्यही बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रश्न गरे– के त्यसो भए ७६(२) मा सरकार बनाउन नसक्नेले ७६(५) अनुसार गर्न मिल्छ त ?”

प्रधानन्यायाधीशको प्रश्नमा बन्दीले भने, “७६(२) दलीय आधारमा हो श्रीमान् । तर ७६ (५) होइन ।”

त्यसो भए ५ को प्रक्रिया सुरु गर्ने समय भएको थियो ? प्रधानन्यायाधीशको प्रश्न थियो ।

बन्दीले भने प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि पत्र लेखेर सुरु भएको जवाफ दिएका थिए ।

बन्दीले नेकपा एमालेमा माधवकुमार नेपालको बहुमत रहेको र नहरेको हेर्ने निकाय राष्ट्रपति कार्यालय नभएको तर्क अघि सारेका थिए ।

“माधव नेपालको बहुमत छैन भन्ने राष्ट्रपति को ?,” उनको प्रश्न थियो, “राजनीतिक दलसम्बन्धी ऐनले कुन पनि सांसदलाई कारबाही गर्ने र दल त्याग गरेको ठहर्न केन्द्रीय समितिको बहुमतबाट निर्णय हुनुपर्छ । माधव नेपालको बहुमत पुग्दैन भनेर उहाँले भन्ने हो ? परीक्षण कहाँ भएको छ ? दृढ बच्चाजस्तै राष्ट्रपतिले नाइँ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भन्नुभयो ।”