लुम्बिनी प्रदेशका जसपाका चार सांसदको पद जोगियो - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

लुम्बिनी प्रदेशका जसपाका चार सांसदको पद जोगियो



काठमाडौं- तत्कालका लागि लुम्बिनी प्रदेशका चार सांसदको पद जोगिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले पदमुक्त गरेका लुम्बिनी प्रदेश सभाका चार जना मन्त्रीको सांसद पद तत्कालका लागि जोगिने भएको हो। 

सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जसपाले कारबाही गरेकोण थियो। उनीहरूलाई सांसद पदमा रहेर कामकारबाही गर्न दिन सर्वोच्च अदालतले ३ जेठमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

अब भने अन्तरिम आदेशबारे छलफल नहुने एकैपटक अन्तिम आदेश आउनेगरी सुनुवाइ हुने अदालतले जनाएको छ । उक्त मुद्दामा सर्वोच्चले आजका लागि सुनुवाइको मिति तोकेको थियो । आज न्यायाधीशहरू दीपककुमार कार्की र हरिप्रसाद फुँयालको इजलासले पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश गरेपछि उनेहरूको पद तत्कालका लागि जोगिएको हो । 

अघिल्लो आदेश बदर गर्ने स्पष्ट निर्णय नभएसम्मका लागि त्यसले निरन्तरता पाउने भएका कारण पूर्ण सुनुवाइका लागि पेश गर्ने भन्ने आजको आदेशपछि लुम्बिनी प्रदेश सभाका चार जना सांसदको पद हाललाई जोगिएको हो।

दुवै पक्षलाई छलफलमा झिकाएर अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय गर्ने भन्दै सर्वोच्च अदालतले १६ जेठमा पेशी तोकेको थियो।  आफूहरूलाई कारबाही गर्ने पार्टी जसपा र लुम्बिनी प्रदेश सभालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा चार मन्त्रीले रिट दर्ता गराएकोमा पार्टी र प्रदेश सभाले १६ जेठको सुनुवाइ स्थगित गराएका थिए।

त्यसको अर्थ सर्वोच्च अदालतको ३ जेठको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने भएको छ। सर्वोच्च अदालतले अघिल्लो एक जना न्यायाधीशको इजलासबाट भएको आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने कुनै निर्णय नदिएको भए पनि व्यवहारत: अघिल्लो आदेशले निरन्तरता पाउने भएको हो। 

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले फेरि चारै जना सांसदलाई स्पष्टीकरण सोधेको छ। पार्टीको निर्देशन विपरीत मुख्‍यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएको भन्दै जसपा केन्द्रीय कार्यकारिणी समितिले स्पष्टीकरण सोधेको हो। यसमा कारबाही गर्न भने सर्वोच्चमा जारी यसअघिको मुद्दाले फरक पर्नेछैन।